चितवन,११ साउन
पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो।
दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणले तालिका सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेका्ले लोडसेडिङ् गर्नुपरेको हो। वितरण केन्द्र चनौलीअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो।
वितरण केन्द्रले जनाएअनुसार, भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने अवस्था रहेको छ। तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ।
तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ।