काठमाडौँ : शनिबार साँझदेखि देशभर लगातार परेको भारी वर्षाका कारण बाढी र पहिरोले ११ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ती राजमार्ग र सडक खण्डहरूमा यातायात पूर्णरूपमा ठप्प भएको छ।
अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर करिडोर सडक, र पाँचथरकै मध्यपहाडी लोकमार्ग प्रमुख छन्।
यस्तै, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर, र बैतडीको महाकाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
यसैबीच, केही सडकखण्ड भने आंशिक रूपमा सञ्चालनमा छन्। तीमध्ये काठमाडौंको टोखाबाट नुवाकोटतर्फ जाने सडक, बागलुङ नगर र गलकोट क्षेत्रका कालीगण्डकी तथा मध्यपहाडी सडकखण्ड, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यात्रुहरूलाई अत्यावश्यक नपरी यात्रा नगर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।