काठमाडौं,२ साउन
गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले गृह मन्त्रालय नागरिकको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न निरन्तर क्रियाशील रहेको बताउनुभयो।
'हाम्रो पहिलो जिम्मेवारी भनेकै देशमा शान्ति सुरक्षाको वातावरण कायम गर्नु हो,' गृहमन्त्री लेखकले भन्नुभयो, 'अपराध घटाउने, नियन्त्रण गर्ने, र अपराध भएमा वैज्ञानिक अनुसन्धान मार्फत दोषीलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा गृह प्रशासन जुटिरहेको छ।'
उहाँका अनुसार देशमा हाल शान्ति सुरक्षाको अवस्था अनुकूल छ र फरार अपराधीहरू समेत पक्राउ गर्ने कार्य जारी रहेको छ। गृह मन्त्रालय सुशासनको प्रवर्द्धन, संविधान र कानुनको प्रभावकारी कार्यान्वयन तथा विपद् व्यवस्थापनमा पनि सक्रिय रूपमा लागेको उहँले स्पष्ट पार्नुभयो।
गृहमन्त्री लेखकले लागुऔषधको न्यूनीकरण, नियन्त्रण र निषेधका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले सडक दुर्घटनाको दर उच्च रहेको भन्दै त्यसको नियन्त्रण आवश्यक रहेको औँल्याउनुभयो।
'गृह मन्त्रालयले केवल अपराध नियन्त्रणमै होइन, नागरिकको समग्र सुरक्षाको प्रत्याभूति दिन निरन्तर प्रयास गरिरहेको छ,' गृहमन्त्री लेखकले बैठकमा स्पष्ट पार्नुभयो।