काठमाडौं, साउन २
श्रम विना प्रगति सम्भव छैन र श्रमिकको सम्मान विना समृद्धि सम्भव छैन भन्ने मान्यतासहित सरकारले श्रमिक हितमा निरन्तर कदम चालिरहेको छ। यसै सन्दर्भमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपियाँबाट बढाएर १९ हजार ५५० रुपियाँ पुर्याउने निर्णय गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको उक्त निर्णयलाई ‘श्रमिकलाई एक मुट्ठी भरोसा दिने महत्त्वपूर्ण कदम’ बन्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमिकको सम्मान र भविष्यप्रति प्रतिबद्ध रहेको बताउनुभयो।
निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले श्रमिकको पसिना र योगदान बिना राष्ट्रको समृद्धि सम्भव नहुने उल्लेख गर्नुभएकाे छ। ‘श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव छ, त्यसैले उनीहरूको कडा मेहनतको मूल्यांकन हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे।
यसअघि सरकारले श्रमिकको भविष्य सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिसकेको छ। अहिले सम्म उक्त कार्यक्रममा झण्डै २१ लाख श्रमिक आबद्ध भइसकेका छन्। यो कार्यक्रम श्रमिकलाई दीर्घकालीन सुरक्षा दिने अभिप्रायले सुरु गरिएको हो।
प्रधानमन्त्री ओलीले श्रमिकको जीवनस्तर सुधार गर्न र उनीहरूको योगदानको उचित मूल्याङ्कन गर्न यो निर्णय महत्त्वपूर्ण हुने बताउनुभएको छ।