राष्ट्रिय समाचार समिति
काठमाडौँ, १ साउन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताउनुभएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आज यहाँ आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उहाँले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राख्नुभयो।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नविन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढिरहेको उल्लेख गर्नुभयो।
समारोहमा विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी तथा सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो। देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन, समन्वय तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो।
सरकारले लिएको नीतिअनुरूप औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई सेवा दिने सक्रिय संयन्त्रका रूपमा आफ्नो भूमिका मजबुत बनाउँदै आएको छ।