राष्ट्रिय समाचार समिति
काठमाडाैँ, ३२ असार
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ। तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो।
सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ। दैनिक रु दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको जानकारी दिनुभयो। “प्यारापिट बनाउन रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो”, उहाँले भन्नुभयो।
सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताउनुभयो।
“असार ३० गते निर्माण कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौँ। मङ्गलबारदेखि उहाँहरूले दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ”, उहाँले भन्नुभयो, “यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ। सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ।”
निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कंठले जानकारी दिनुभयो। उहाँका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लडलाइटमध्ये तीन वटा पोल आइसकेका न्छ। प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ। फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको कंठले जानकारी दिनुभयो।