राष्ट्रिय समाचार समिति
काठमाडौँ, २७ असार
सरकारले पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार-२०८१’ वितरण समारोह कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सो पुरस्कार प्रदान गर्नुभएको हो।
पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१ सहित) को दफा ४ को उपदफा (२) बमोजिमको मूल्याङ्कन तालिकाका आधारमा अधिकतम अङ्क प्राप्त गर्नुहुने राष्ट्रिय समाचार समिति (रासस)कर्मी दर्नाललाई सो पुरस्कार प्रदान गरिएको हो।
पुरस्कारको राशि रु ५० हजार छ। पत्रकार दर्नाल विगत डेढ दशकदेखि राससमा आबद्ध हुनुहुन्छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार दर्नाललाई युवा जागरण, श्रमको सम्मान र सकारात्मक सोच प्रवर्द्धन तथा सामाजिक विकृति, विसङ्गति, विभेद न्यूनीकरण, सामाजिक सद्भाव र शान्ति निर्माणका सवालमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएबापत सो पुरस्कार प्रदान गरेको हो।
मन्त्रालयले युवा विकासका सवालमा उपलब्ध अवसर र सम्भावना उजागर गरेको, युवा उद्यमशीलता विकास, रोजगारी÷स्वरोजगारीका सवालमा पत्रकारितामार्फत योगदान पुर्याएको, पत्रकारिताको माध्यमबाट विशेष प्राथमिकताका समूहका युवाको विकासमा क्रियाशील रहेको, युवा पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहेको र दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट युवा विकासको क्षेत्रमा क्रियाशील रहेको विषयलाई पनि पुरस्कारको मूल्याङ्कनको आधार मानेको थियो।
पत्रकार दर्नालसँगै मन्त्रालयले कान्तिपुरकर्मीद्वय प्रकृति दाहाल र गगनशीला खड्का र अन्नपूर्ण पोष्टकर्मी ममता थापालाई पनि पुरस्कार प्रदान गरेको छ।
खेदकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित ‘युवा पत्रकारिता पुरस्कार’ छनोट समितिले पुरस्कारको छनोट गरेको हो। समितिको सदस्यमा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द शिवाकोटी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ममता बास्तोला, खेलकुद मन्त्रालयका उपसचिव सुरेन्द्रकुमार बज्राचार्य (समितिको सदस्यसचिव) र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र नेपाल पत्रकार महासङ्घका सचिव रमेश खतिवडा रहनुभएको थियो।