राष्ट्रिय समाचार समिति
काठमाडौँ, २४ असार
राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्र्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्नुहुँदै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताउनुभयो। नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबारे पूर्वसूचना पाउँदा पनि आवश्यक सतर्कता नअपनाइएको उहाँको भनाइ थियो।
अर्का सांसद राजेन्द्रलक्ष्मी गैरेले भोटेकोशीको बाढीमा परी केही व्यक्ति बेपत्ता रहेको, रसुवागढी नाकामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, भन्सार यार्डमा राखिएका सवारीसाधनलगायत मालवस्तु बगाएको विषय उल्लेख गर्नुहुँदै उद्धारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सरकार जनताप्रति संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो।
सांसद विष्णुबहादुर विश्वकर्माले अफगानिस्तानमा महिला अधिकार गम्भीर रूपमा हनन भइरहेका धारणा राख्नुहुँदै नेपालले यस विषयमा बोल्नुपर्ने बताउनुभयो।
सांसद दुर्गाकुमारी गुरुङले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणको जोखिम बढेको र नागरिकले दुःख पाइरहेको विषय संसद्मा उठाउनुभयो।
त्यसैगरी अर्का सांसद नरबहादुर विष्टले सरकारले अहिले सुरक्षा निकायका लागि हतियार खरिदको प्रक्रिया अघि बढाउन नहुने धारणा राख्नुभयो। यो खरिद प्रक्रियामा आर्थिक हिनामिनाको प्रश्नसमेत उठेको उहाँको भनाइ छ।
सांसद नारायणदत्त मिश्रले अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभाव भएको विषय संसद्मा उठाउनुभयो। आर्थिक वर्षको अन्त्यमा कमसल काम गरेर भुक्तानी दिने प्रवृत्ति हट्न नसकेको बताउनुभयो।
सांसद युवराज शर्माले विद्यालय शिक्षा विधेयक संसद्बाट चाँडो पारित गरिनुपर्नेमा जोड दिनुभयो। चिकित्सकको आन्दोलन बारे गम्भीर हुन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो।