काठमाडौँ, २२ असार
सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको साफेबगर नगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय जगतबहादुर कुँवर पाँच दिनदेखि बेपत्ता भएका छन्।

असार १७ गते बिहान मर्निङ वाकका लागि घरबाट निस्कनु भएका कुँवर अहिलेसम्म सम्पर्कविहीन छन्। उहाँका भतिज देवबहादुर कुँवरका अनुसार असार १८ गते नै जिल्ला प्रहरी परिसर काठमाडौँमा खोजतलासका लागि निवेदन दर्ता गरिसकिएको छ। "काका हराएको आज पाँच दिन बितिसक्यो, तर अहिलेसम्म कुनै पत्तो लागेको छैन," उहाँले भन्नुभयो।
पेशाले शिक्षक रहेका कुँवर अचानक बेपत्ता भएपछि परिवार र आफन्तहरू अत्यन्त चिन्तित भएका छन्। अछाम स्थायी घर भई हाल काठमाडौँ हाडिगाउँमा बस्दै आउनु भएका कुँवरका नातेदार तथा कुण्डली सेवा समाजका कोषाध्यक्ष धर्मराज खड्काले भन्नुभयो, "मर्निङ वाक जाँदा बेपत्ता हुनुभयो। पाँच दिन बितिसक्दा पनि कतै पत्ता लाग्न सकेको छैन। परिवारमा ठूलो तनाव छ। हामी निरन्तर खोजीमा लागि परेका छौँ।"
कुँवरका श्रीमती र तीन छोराहरू युवराज, अनिल र धिरज गरी तीन छोरा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराले कुँवर बेपत्ता भएको उजुरी परिसरमा दर्ता भइसकेको र खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। "असार १८ गते उजुरी दर्ता भएको हो। खोजतलासका लागि विभिन्न प्रहरी युनिट परिचालन गरिएका छन्," उहाँले बताउनुभयो।
प्रहरीले कुँवरको खोजी कार्य तीव्र पारिरहेको जनाएको छ।