राष्ट्रिय समाचार समिति
काठमाडौँ, १६ असार
उपराष्ट्रपति रामसहायप्रसाद यावदले युवाहरुका विचारलाई हौसला दिनु र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता भएको बताउनुभएको छ।
आज राष्ट्रिय युवा परिषद्ले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले युवाहरुको सशक्त आवाजलाई नीति निर्माणको मूलधारमा समावेश गर्न सक्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “युवाहरुको सोच, दृष्टिकोण र नविन विचारहरूलाई आत्मसात् नगरी हामी समृद्ध नेपालको कल्पना गर्न सक्दैनौँ । उनीहरू परिवर्तनका संवाहक हुन्।”
यसैगरी उपराष्ट्रपति यादवले हालको परिस्थितिमा युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतालाई सहि दिशा दिनु सबै तह र तप्काका नेतृत्वकर्ताहरूको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “युवाहरु उज्यालो भविष्यका सुनिश्चितता हुन्। उनीहरुका क्षमता र नवप्रवर्तनशीलतालाई सही दिशा दिनु सबै तहका नेतृत्वकर्ताको दायित्व हो । हाम्रो जस्तो मुलुकमा युवाहरुको ऊर्जा र नविन धारणा निकै महत्वपूर्ण छन्।”
समृद्ध राष्ट्र निर्माणमा युवाको खाँचो रहेकाले युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतामा सबैको सकारात्मक सोच र आवश्यकता अपरिहार्य रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “युवाहरुका आवाजलाई नीति निर्माणमा समावेश गर्न सबैको ध्यानाकर्षण हुन जरुरी छ। समृद्ध राष्ट निर्माणमा युवाहरुको खाँचो रहेको छ।” यसैगरी खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले भन्नुभयो, “युवाहरुलाई सहुलियत पूर्ण कर्जा प्रदान गर्न र उनीहरुलाई उद्यमी बनाउनका लागि म पूर्णरुपमा लागि परेको छु। युवाहरुलाई मेरो पूर्ण साथ र सहयोग रहने छ।”