राष्ट्रिय समाचार समिति
चितवन, १३ असार
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ।
सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ। नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार ७०० हेक्टर र खगेरी सिँचाइबाट तीन हजार ९०० सय हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ।
कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार खगेरी सिँचाइमा यही असार १० गतेदेखि पानी छाड्न थालिएको हो। नारायणी लिफ्टमा पूजा गरेर पानी छाड्न थालिएको उहाँले जानकारी दिनुभयो। अहिले लिफ्टको ‘बी’ पम्पबाट पानी छाडिएको छ। उहाँले भन्नुभयो, “पम्पको पूजा गरेर आजदेखि पानी छाडिएको छ।” असार १५ गते धान दिवसका अवसरमा रोपाइँका लागि पानी छाडिएको उहाँले बताउनुभयो। गत आर्थिक वर्षमा पनि असार १० गतेबाट पानी छाडिएको थियो।
‘सी’ पम्पबाट असार तेस्रो साताबाट पानी छाडिने उहाँले बताउनुभयो। उहाँका अनुसार बी पम्पबाट एक दशमलव सात घनमिटर प्रतिसेकेन्ड पानी तानिने गरिन्छ भने सी पम्पबाट अधिकतम आठ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने गरिन्छ। नहर सरसफाइ गरेर मूल नहर र शाखाहरुमा पानी छाडिएको चालिसेले बताउनुभयो।
नारायणी लिफ्टबाट देवनगर, लङ्कु, टाइगरचोक, फूलबारी, राधापुर, श्रीपुर, तोरिखेत, पारसनगर, शिवनगर, गोरखाली टोल, गोन्द्राङ्, वन्देवी, काँडाघारी गौरीगञ्ज क्षेत्रको सिँचाइ हुँदै आएको छ। खगेरीबाट देवनगर, मङ्गलपुर, गीतानगर, पार्वतीपुर क्षेत्रमा सिँचाइ हुने गरेको छ। यस कार्यालयले धान र गहुँ बालीलाई लक्षित गरि नहरमा पानी छाड्दै आएको छ।