राष्ट्रिय समाचार समिति
म्याग्दी, ११ असार
म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका सबै स्थानीय तहहरुले निर्धारित समयमै गाउँ/नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्। पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता दिएका जिल्लाका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम, सानो आकारको आन्तरिक आम्दानीमा सङ्घ र प्रदेशबाट आउने अनुदानलाई जोडेर बजेट सार्वजनिक गरेका छन्।
जिल्लामा रहेको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले रु ७१ करोड ८० लाख २७ हजारको बजेट पारित गरेको छ। मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १७औँ नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामिछानेले पेस गर्नुभएको बजेट छलफलसहित पारित भएको हो। सभामा लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु ५४ करोड ९३ लाख ३० हजार र पुँजीगततर्फ रु १६ करोड ८६ लाख ९७ हजार विनियोजन गरिएको छ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले कूल रु ६० करोड ७६ लाख दुई हजार बराबरको बजेट पारित गरेको छ। २१औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ रु ३७ करोड ५३ लाख १२ हजार ४३५ र पुँजीगततर्फ रु २३ करोड २२ लाख ९० हजार ३५८ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
यस्तै धौलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४६ करोड ५६ लाख छ हजार ५६३ को बजेट पारित गरेको छ। गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २४ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुननसक्ने अनुमानित रु दुई करोड र रु ४५ लाख आन्तरिक आम्दानीबाहेक सङ्घीय तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट पारित गरेको हो।
त्यसैगरी मङ्गला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ६१ लाख ५६ हजार ४५१ बराबरको बजेट पारित गरेको छ। गाउँपालिकाले चालु खर्चतर्फ रु ३१ करोड ३३ लाख २० हजार ४५१ र पुँजीगततर्फ रु १३ करोड २७ लाख ३६ हजार बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो।
यस्तै मालिका गाउँपालिकाले रु ४६ करोड दुई लाख तीन हजारको बजेट पारित गरेको छ। गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालुतर्फ रु ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगततर्फ रु १३ करोड सात लाख १९ हजार बजेट विनियोजन भएको जानकारी गराउनुभएको थियो।
त्यस्तै रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ५० करोड ११ लाख ४० हजार ८२० बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित भएको हो। गाउँपालिकाले चालुतर्फ रु ३७ करोड ६७ लाख ६० हजार ८२० र पुँजीगततर्फ रु १२ करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरेको छ।