राष्ट्रिय समाचार समिति
काठमाडौँ, १८ चैत
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यहाँ आयोजित शुभकामना आदानप्रदानका अवसरमा उहाँले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो।
महामन्त्री थापाले कोरोनाबाट थला परेको नेपालको होटल क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो। लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन लोकतान्त्रिक होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। लोकतन्त्रवादी होटल व्यवसायी एकताबद्ध भएर अगाडि बढेमात्र लोकतन्त्रलाई जोगाउन सकिने उहाँको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका संयोजक अब्दुल सत्तारले पार्टीले निर्धारण गरेकै मितिमा लोकतान्त्रिक होटल सङ्घको अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। व्यवसायीको समस्या समाधान गर्न कांग्रेस प्रतिवद्ध रहेको उहाँको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपालको होटल क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। होटल क्षेत्रले नेपालको अर्थतन्त्रमा सहयोग गरेको उहाँको भनाइ थियो। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभर बसाइँसराइको दर भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले देशमा रोजगारी सिर्जना गर्न होटल व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो।
कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले कांग्रेसले व्यवसायीको संरक्षण गर्न लाग्नुपर्ने बताउनुभयो। कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापना भएको लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले हाल देशभरका ४१ जिल्लामा आफ्नो जिल्ला शाखा गठन गरिसकेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले बताउनुभयो।
लाजिम्पाट बुटिक होटलको शुभारम्भ
वरिष्ठ होटल व्यवसायी लीलाप्रसाद ढकाल र शैलेश कार्कीलगायतको समूहले निर्माण गरेको लाजिम्पाट बुटिक होटलको शुभारम्भ गरिएको छ। काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा रु तीन करोड लागतमा निर्माण गरिएको उक्त होटलको आज कांग्रेस महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले शुभारम्भ गर्नुभयो।
सुविधासम्पन्न मिटिङ हलसहित निर्माण गरिएको १५ कोठाको होटलमा हाल २२ जनालाई रोजगार प्रदान गरिएको होटलका सञ्चालक ढकालले जानकारी दिनुभयो।