काठमाडौँ: कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत नयाँ फण्ड ट्रान्सफर सुविधा सञ्चालनमा ल्याएको छ। नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा सुरु गरिएको यस सुविधाले बैंकका ग्राहकहरूलाई सजिलो र सुरक्षित तरिकामा रकम स्थानान्तरण गर्ने सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
बैंकका अनुसार, यस नयाँ सेवामा ग्राहकहरूले मोबाइल नम्बर वा बैंक खाता नम्बरको माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। यसले बैंक खाताहरू र डिजिटल वालेटहरूबीच कारोबारलाई छिटो, सुरक्षित र सहज बनाउन मद्दत पुर्याउँछ। नयाँ प्रणालीमा दुई प्रमुख तरिका उपलब्ध छन् – पहिलो, ग्राहकहरूले प्राप्तकर्ताको बैंक खाता जडान भएको मोबाइल नम्बर प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन्। दोस्रो, प्राप्तकर्ताको बैंक नाम, खाता नम्बर, र खातावालाको नाम प्रविष्ट गरेर रकम स्थानान्तरण गर्न सकिनेछ।
नयाँ सेवाबाट ग्राहकहरूले न्यूनतम शुल्कमा बैंक खाताबिच रकम स्थानान्तरण गर्न सक्नेछन् भने डिजिटल वालेटमा पनि कुनै अतिरिक्त शुल्कबिना रकम जम्मा गर्न सक्ने सुविधा उपलब्ध हुनेछ।
कृषि विकास बैंकले यस नयाँ प्रणालीलाई ग्राहकमैत्री र सरल प्रयोगयोग्य बनाएको जनाएको छ, जसले डिजिटल बैंकिङको अनुभवलाई अझ सहज र सुरक्षित बनाउँदै गर्दा, आगामी दिनमा थप नयाँ सुविधाहरू ल्याउने योजना रहेको पनि उल्लेख गरेको छ।
यस नयाँ फण्ड ट्रान्सफर सेवाले डिजिटल कारोबारलाई प्रोत्साहन दिने र ग्राहकहरूको वित्तीय आवश्यक्ताहरूलाई थप प्रभावकारी ढंगले सम्बोधन गर्ने बैंकको उद्देश्य रहेको छ।