काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तानसमेत रहेका क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याउँदै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । सन्दीपको मुद्दा काठमाडौँ जिल्ला अदालतमा ३६ पटक पेशीमा चढेपछि अन्तिम फैसला आएको हो ।
यसअघि पटक पटक पेशीमा चढे पनि मुद्दाको फाइनल बहस हुन नसक्दा मुद्दा लम्बिएको थियो । अदालतमा विगत डेढ वर्षयता नाबालिका बलात्कार मुद्दा खेपिरहेका सन्दीपको जिल्ला अदालतले शुक्रबार अन्तिम फैसला गरेको हो ।
न्यायाधीश ढकालको इजलासमा गत आइतबारबाट फाइनल सुनुवाइको पेशी चढेको थियो । त्यसयता निरन्तर हेर्दाहर्दैमा रहेको मुद्दा दुवै पक्षका वकिलको बहसपछि शुक्रबार फैसला गरिएको हो ।
गत वर्षको ५ भदौमा आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै एक किशोरी (गौशाला-२६) ले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि सन्दीपलाई गत वर्षको २० असोजमा एयरपोर्टबाटै पक्राउ गरिएको थियो ।
प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यलयले १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र १४ कार्तिकमा दर्ता गरेयता सन्दीप निरन्तर यो मुद्दा लड्दै आएका थिए ।
गत वर्षको १५ कात्तिकमा सन्दीपको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको थियो । १६ र १७ कात्तिकमा थुनछेक बहसपछि १८ कात्तिकमा न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएका थिए ।
पछि उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो । २८ पुसमा तीन पटक पेशी चढेर स्थगित भएको मुद्दामा पाटन उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छोड्न आदेश गर्दै अन्तिम फैसला नहुँदासम्म विदेश जान रोक लगाएको थियो । त्यसपछि सन्दीप विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले १५ फागुन २०७९ मा सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई 'फास्ट ट्र्याक' तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको करिब १० महिना पछि अन्तिम आदेश आएको हो ।