काठमाडौं । एनसीएमटी कलेजको आयोजनामा पहिलोपटक सञ्चालन भएको एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जाकिपोइन्ट हेल्थले जितेको छ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कर्पोरेट तथा संस्थाबाट २३ टोली सहभागी भएका थिए। भदौ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीलाई सात समूहमा विभाजन गरी समूह चरणबाट प्रतिस्पर्धा सुरु गरिएको थियो।
प्रतियोगिताको पहिलो र दोस्रो दिन समूह चरणका खेल सञ्चालन भएका थिए। तेस्रो दिन समूह चरणका बाँकी खेलसँगै राउन्ड अफ १६ र क्वार्टरफाइनलका खेल सम्पन्न भएका थिए। अन्तिम दिन सेमिफाइनल, तेस्रो स्थान र फाइनलका खेल सञ्चालन गरिएको थियो।
पहिलो सेमिफाइनलमा नेको इन्स्युरेन्स लिमिटेड (बी) र हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा हिमालयन एभरेस्ट इन्स्योरेन्स विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो।
दोस्रो सेमिफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र जाकिपोइन्ट हेल्थ बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जाकिपोइन्ट हेल्थले ३–२ गोलको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा नेको इन्स्युरेन्स लिमिटेड (बी) ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
फाइनलमा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड र जाकिपोइन्ट हेल्थ आमनेसामने भएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा जाकिपोइन्ट हेल्थले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई ४–३ गोलले पराजित गर्दै एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको पहिलो उपाधि जितेको हो। हिमालयन एभरेस्ट इन्स्योरेन्स उपविजेता बनेको छ।
प्रतियोगितामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि राखिएको थियो। विजेता जाकिपोइन्ट हेल्थले १ लाख रुपैयाँ, उपविजेता हिमालयन एभरेस्ट इन्स्योरेन्सले ५० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको नेको इन्स्युरेन्स लिमिटेड (बी) ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ हिमालयन एभरेस्ट इन्स्योरेन्सका गोलरक्षक इराज कार्कीले उत्कृष्ट गोलकिपरको अवार्ड प्राप्त गरे। जाकिपोइन्ट हेल्थका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता घोषित भए भने सोही टोलीका मिलन थापा उत्कृष्ट खेलाडी बने।
त्यस्तै, फेयर प्ले अवार्ड नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रदान गरिएको थियो।
एनसीएमटी कलेजले पहिलोपटक आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगितामार्फत विभिन्न कर्पोरेट तथा संस्थाबीच खेलकुदको विस्तारसँगै टिमवर्क, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्य राखिएको जनाएको छ।
चार दिनसम्म चलेको प्रतियोगितामा सहभागी टोली तथा खेलाडी, रेफ्री, स्वयंसेवक, कलेज व्यवस्थापन र आयोजक टोलीको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार भएको आयोजकको भनाइ छ।
एनसीएमटी कलेजले प्रतियोगिताको सफलताका लागि सहभागी २३ वटै टोली, खेलाडी, रेफ्री, स्वयंसेवक, कलेज व्यवस्थापन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।