काठमाडौँ । सिटी होटलले आज मंगलबार चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।
यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०% ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १०% अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
जारी पुँजीको ४% अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५% अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई 'केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ' प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।