काठमाडौँ । आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले बिहीबार यूएईसँग आफ्नो अन्तिम एवम् महत्वपूर्ण खेल खेल्दैछ।
आज यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने 'विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर' मा सिधै छनोट हुनेछ।
लिग २ को अन्तिम शृङ्खलाअन्तर्गतका सबै खेलहरुमा अविजित रहेको नेपाल सोही नतिजा दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
दुई देश बीचको खेल बिहीबार बिहान ९:३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ।
लिग २ को ३ शीर्ष टोली ३ महिनापछि ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’मा छनोट हुनेछन्। स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित शीर्ष दुई स्थानमा रहँदै विश्वकप क्वालिफायरका लागि छनोट भइसकेका छन्।
तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। बिहीबारको खेलमा यूएईसँग जित हात पारे नेपालले २ अंक पाउनेछ।
यूएई ३३ अंकका साथ छैटौं स्थानमा छ। ३५ अंकसहित अमेरिका पाँचौ स्थानमा छ। अमेरिकाले लिग २ का सबै खेल खेलिसकेको छ। यूएई र नेपाल बिहीबार अन्तिम खेल खेल्न लागेका हुन्।
यस्तै, आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने अवसर छ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि आज युएईविरूद्ध कम्तीमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेलमा १०० विकेट लिने कीर्तिमान बनाउनेछन्।
अफगानिस्तानका रसिद खानले सन् २०१५ अक्टोबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।
पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिएका छन्।
२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि युएईविरुद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।