काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकास हाइड्रोपावरको लिमिटेडको विधिवत् रूपमा समुद्घाटन गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज सोमबार बालुवाटारबाट भर्चुअल रूपमा विद्युत् उत्पादनको उद्घाटन गरेका हुन् ।
गोरखाको धार्चे गाउँपालिकामा रहेको हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी छ ।
प्राप्त जानकारी अनुसार यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो ।
भर्चुअल उद्घाटन कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंले गोरखाका विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्ने बताए ।
यसका लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुने बताए । बजगाईंले गोरखामा बुढीगण्डकीसँगै अन्य धेरै जलविद्युत्को प्रचुर सम्भावना रहेको बताए ।
कम्पनीको नेतृत्व गैर आवासीय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्णप्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका व्यवसायी छन् ।
एनआरएनएका कोषाध्यक्ष एवम् सो आयोजनको लगानीकर्ता लोक दाहालले दिइएको समयसीमामा कयौं जलविद्युत् आयोजना नबनेको अवस्थामा विकास हाइड्रो भने पहिले नै निर्माण सम्पन्न भएको बताए ।
थप तस्बिरहरू:






