काठमाडौँ । बैंकिङ क्षेत्रमा चर्चित नाम हाे अशोक शेरचन। लामाे बैंकिङ अनुभव रहेका शेरचन विगत केही वर्षयता प्रभु बैंक कार्यरत् छन् ।
दुई पटकसम्म प्रभुकाे सीईओ भएर काम गरेका उनै शेरचन तेस्राे पटक पनि प्रभुकै सीईओ बनेका छन् ।
बिहीबार बसेको बैंककाे सञ्चालक समितिको बैठकले शेरचनलाई पुन:तेस्राे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त गरेको हो ।
उनी यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् ।
मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।
२७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे ।
त्यसपछि उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए। उनी फाइनान्सको सीईओ बने । साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए ।
जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभभित्र राख्न सफल भएका छन् ।
शेरचन सन् २००७ मा तत्कालिन प्रभु फाइनान्सको सीईओमा नियुक्त भएका उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।
सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।