काठमाडौं, १० जेठ
अविरल वर्षापछि आएको बाढी–पहिरोले पाँचथरका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरोले घर बगाएपछि लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गंगाप्रसादको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा बसिरहेको छ।
त्यसैगरी, भगीमान बेघाको घर उच्च जोखिममा परेपछि परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो।
बाढी–पहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र खोलाघारी मगरडाँडाका गरी १६ भन्दा बढी परिवारका घर जोखिममा परेका छन्।
बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। यस्तै, पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ। पुलसँगै सडक र डाइभर्सन बगाउँदा उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलको संरचनासमेत बाढीले बगाएको छ।
याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायत सामग्री बाढीले बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताउनुभयो।
यस्तै, पहिरो खसेपछि पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढी र पहिरोले विभिन्न जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। याङवरक–२ मेवाखोलास्थित हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजना, पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्र तथा अरुण काबेली जलविद्युत् आयोजनामा क्षति पुगेको प्रहरीले जनाएको छ।
याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा पनि बाढी पसेर क्षति पुगेको छ।
त्यसैगरी, टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत बाढी–पहिरोले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो।