काठमाडौं, १० पुस
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह गर्न लागिएको हो।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
टोकियो विश्वविद्यालयसँग आबद्ध प्राध्यापक काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो। उपकुलपति प्रा. डा. अर्यालले दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भइसकेका छन्।
यस वर्ष त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ।
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएको उपकुलपति प्रा। डा। अर्यालले जानकारी दिनुभयो।
समारोहका क्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ। यस वर्ष त्रिविबाट मानविकी सङ्कायमा १४ हजार ८५१, व्यवस्थापनमा ४३ हजार ६१०, कानुनमा २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।