काठमाडौँ, २३ कात्तिक
संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जीवनमा आउने दुःख र सङ्घर्षलाई खुसीका साथ स्वीकार गर्न सके जीवन सहज र सुखमय बन्ने बताउनुभयो।
प्रेस काउन्सिल नेपाल र जीवन विज्ञानको सहकार्यमा सञ्चारग्राममा आयोजित ‘संवाद र सञ्चारमा स्वजागरण स् सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुन सक्ने क्षमतालाई नै जीवनको सबैभन्दा ठूलो सुखको रूपमा व्याख्या गर्नुभयो।
उहाँले भन्नुभयो, “दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ। त्यसैले दुःखमा समेत खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। मनमा शान्ति र खुसी हुनु नै जीवनको वास्तविक सुख हो।”
मन्त्री खरेलले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक रूपमा होइन, सकारात्मक सोच र आत्मसन्तुष्टिसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो।
पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रही अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले सरकारी जिम्मेवारीका कारण पुराना साथीहरूसँगको सम्बन्ध घटेको र कामको चापका कारण तनाव बढेको पनि बताउनुभयो।
कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्दै मानिसले आफ्नो भित्रको खुसी खोज्न नसक्दा आत्महत्या र मानसिक तनावका घटना बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “खुसी कुनै बाहिरी कुरा होइन, त्यो हाम्रो मनभित्र लुकेको छ। आफूभित्रको खुसीलाई उजागर गर्न सक्न जरुरी छ।”
शर्माका अनुसार, जीवन विज्ञान अभ्यासले व्यक्ति आत्मअनुभूति, ध्यान र आत्मचिन्तनतर्फ उन्मुख गराउँछ, जसले मानसिक सन्तुलन कायम गर्न र आत्महत्याका घटनामा कमी ल्याउन सहयोग पुर्याउँछ।
प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले पनि जीवनको मूल सार खुसी र सन्तोषमा रहेको बताउँदै हरेक व्यक्तिले आफ्नो भित्रको खुसी महसुस गर्न सिक्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि र जीवन विज्ञान अभ्यासकर्ताको उल्लेखनीय उपस्थिति थियो।