काठमाडौँ, १७ साउन
लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा को नवौं चार्टर नाइट कार्यक्रम शनिबार राजधानीमा एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भयो। अगस्ट २ मा स्थापना भएको यस प्रतिष्ठित क्लबले आफ्नो नवौं वार्षिकोत्सवलाई विशेष बनाएर सामाजिक सेवाको यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको हो।
कार्यक्रम क्लबका अध्यक्ष लायन अनुप मास्केको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ लायन्स क्लब अन्तर्राष्ट्रियका निवर्तमान निर्देशक एवं GAT Constitutional Area Leader लायन बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थो। कार्यक्रमलाई विशिष्टता दिने अन्य अतिथिहरूमा एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल, डिस्ट्रिक्ट ३२५ के नेपालका गर्भनर लायन दुर्गा प्रसाद हुमागाँई, र निवर्तमान गर्भनर लायन नीरा बज्राचार्यसहित अन्य वरिष्ठ लायन्स नेतृत्वको उपस्थिति थियो।
कार्यक्रममा “सवा करोड दीप प्रज्वलन” अभियानलाई विस्तार गर्दै “१०० करोड दीप प्रज्वलन तथा श्रीमद्भागवत आयोजना” गर्ने निर्णयलाई विशेष रूपमा प्रस्तुत गरियो। यस अभियानले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावलाई प्रवर्धन गर्ने उद्देश्य बोकेको छ।
प्रमुख अतिथि लायन बुर्लाकोटीले क्लबको सक्रियता, दूरदृष्टि र सदस्यहरूको प्रतिबद्धताको प्रशंसा गर्दै हेरिटेज धरहरालाई छोटो समयमा नै शीर्ष क्लबको पहिचान बनाउन सफल भएको बताउनुभयो। उहाँले क्लबले अन्य क्लबहरूका लागि प्रेरणादायी उदाहरण पेश गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा क्लबका प्रमुख दाता तथा सामाजिक अभियन्ता हरि महतलाई विशेष सम्मान गरिएको थियो। यस्तै, क्लबमा नयाँ रूपमा आवद्ध भएका ६ सदस्यलाई गर्भनरको हातबाट पिन लगाएर सम्मान गरिएको थियो, जसले क्लबको भविष्य योजनामा थप उर्जा दिने अपेक्षा गरिएको छ।
समारोहमा प्रथम र द्धितीय भाइस गर्भनर, क्याबिनेट सचिव, चिफ एडमिनिस्टेटर, सल्लाहकार, विभिन्न विभागीय प्रमुख, क्लब अध्यक्ष, पदाधिकारी, दाता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। यस उपस्थितिले क्लब भित्रको एकता, सहकार्य र सेवाप्रतिको समर्पणलाई स्पष्ट पारेको थियो।
कार्यक्रम सञ्चालन क्लबका सचिव लायन इ. अनिष गौतमले गर्नुभएको थियो भने संयोजन क्लबका पूर्वअध्यक्ष लायन मछिन्द्र आचार्यले गर्नुभएको थियो। स्वागत मन्तव्य पनि आचार्यले राख्नु भएको थियो भने धन्यवाद मन्तव्य लायन नेत्र प्रसाद गुरागाईंले दिनुभयो।
स्थापना कालदेखि नै लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, सांस्कृतिक संरक्षण र धार्मिक क्षेत्रसम्म योगदान पुर्याउँदै आएको छ। विपद्को बेला राहत वितरणदेखि लिएर वातावरणीय सरसफाइ, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर आयोजना, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा क्लबको उल्लेखनीय उपस्थिति रहेको छ।
"१०० करोड दीप प्रज्वलन तथा श्रीमद्भागवत आयोजनाजस्ता" अभियानहरूले क्लबको दूरदृष्टि र सामाजिक उत्तरदायित्वलाई झल्काउँछ। यस नवौं चार्टर नाइट कार्यक्रमले विगतका सफलतालाई स्मरण गर्दै भविष्यमा अझ प्रभावशाली र व्यापक सामाजिक कार्यहरू गर्ने प्रेरणा दिएको छ।