काठमाडौं,१८ साउन
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेको हुँदा अधिकांश स्थानमा सामान्य बदली भएको छ।
यसका कारण मधेस प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानसम्मको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।
तर, इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी पूर्व–पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट बग्ने साना नदीहरूको बहाव उल्लेख्य रूपले बढ्न सक्ने तथा ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बाग्लुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला लगायतका जिल्लाबाट बग्ने साना नदीहरूमा समेत उल्लेख्य बहाव वृद्धि हुने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको अनुमान गरिएको छ।
बाढी तथा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरिएको छ।