चितवन, असार ६ : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको नवौं वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भरतपुरमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीले आगामी वर्षका लागि नयाँ योजनाहरू प्रस्तुत गर्नुका साथै सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्विरोध चयनसमेत गरेको छ।
अध्यक्ष श्रेष्ठले सभामा बोल्दै प्रतिस्पर्धात्मक औषधि बजारमा स्वदेशी उत्पादन, गुणस्तरीय सेवा र नवप्रवर्तनमा आधारित रणनीतिसहित अगाडि बढिरहेको जानकारी दिए। उनले कार्डियो(डाइबेटिक, जेनरल प्रडक्ट्स, भेटनरी तथा आई(इयर ड्रपको उत्पादनमा विशेष योजना सहित काम भइरहेको बताए। भेटनरी उत्पादनका लागि निर्माणाधीन भवन छिट्टै सम्पन्न भई बजारमा उत्पादन ल्याइने समेत उनले उल्लेख गरे।
सभामा शेयरधनी प्रतिनिधि राजेन्द्र खरेलले कम्पनीले नेपाली औषधि क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसमा लगानी गर्नु एक सशक्त अवसर भएको बताए। त्यस्तै भरतपुर वडा नं। २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले कम्पनीको गतिविधिले स्थानिय पूर्वाधार तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको जनाउँदै संस्थापक टिमको प्रशंसा गरे।
प्रभु बैङ्क बागमती प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ, प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलिया, संस्थापक निर्देशक कमल पन्थी, अर्जुनप्रसाद काफ्ले लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेलले स्वागत मन्तव्य तथा कानुनी सल्लाहकार धर्मराज खनालले कम्पनीका कामकारवाहीप्रति राष्ट्रका उच्च निकायहरूले पनि प्रशंसा गरेको जानकारी गराए।
सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणहरू पारित गरेको छ। साथै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आगामी वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको छ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन, संचालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधा निर्धारण गर्ने निर्णय पनि पारित गरिएको छ। साथै यदि नियामक निकायबाट कुनै संशोधन वा हेरफेरको निर्देशन आएमा कार्यान्वयन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत अनुमोदन गरियो।
साधारणसभा अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक चयनका लागि चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भए। निर्वाचन अधिकृत अधिवक्ता चक्रबहादुर थापाले उनीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सञ्चालकको शपथ गराएका थिए।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड नेपालको पुँजीबजारमा सूचीकृत एकमात्र औषधि उत्पादक कम्पनी हो, जसले नवप्रवर्तन र उत्पादनको स्तर उकास्न निरन्तर प्रयास गरिरहेको छ।