काठमाडौँ, ३० जेठ
गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच प्रभावकारी समन्वय हुनुपर्ने कुरा औंल्याउनुभएको छ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजना गरिएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रीय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायको काम सीमित स्रोतमा हुनुपर्ने स्थितिप्रति चासो जनाउनुभयो।
“सबैभन्दा बढी कामको जिम्मेवारी सुरक्षा निकायमा छ। सीमित स्रोत साधनको भरमा सुरक्षा व्यवस्था कायम राख्नुपर्ने स्थितिमा सरकारको साथ रहनेछ। आगामी आर्थिक वर्ष २०८२–८३ मा प्रहरीको बजेट उल्लेखनीय रुपमा वृद्धि गरिनेछ”, उहाँको भनाइ थियो।
“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ। विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो। विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उहाँले बताउनुभयो।
विज्ञानको सही अनि व्यवस्थित प्रयोग हुनुपर्ने कुरा पनि लेखकको भनाइ थियो। “विज्ञानको प्रयोग गर्दा सम्बन्धित प्रमाणको सुरक्षा, शुद्धता अनि विश्वासनीयतालाई विशेष ख्याल गर्नुपर्नेछ। यो अभियोजनको समयमा पनि उत्तिकै महत्वपूर्ण छ।”
गृहमन्त्री लेखकको भनाइ अनुसार, फौजदारी न्यायमा अनुसन्धान अनि अभियोजन प्रमुख पक्ष हुन। “फौजदारी न्यायको मुख्य लक्ष्य भनेको पीडितको अनुभूतियुक्त न्याय प्रदान गर्नु हो। हामीले पीडितको भावना अनुभूत गराउन सक्नुपर्नेछ। यो क्षेत्रमा अधिक परिश्रम, क्रियाशीलता, सूझबुझ अनि निष्ठा चाहियो”, उहाँको भनाइ थियो।