काठमाडौं, त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC), कीर्तिपुरमा ‘From Ideas to Impact: Building Sustainable Startups’ नारासहित इन्क्युबेसन फेज ट्रेनिङ कार्यक्रम सुरु भएको छ। पोस्ट प्रि–इन्क्युबेसन चरणमा रहेका युवा उद्यमीलाई व्यवसायिक रूपमा सक्षम बनाउँदै अन्तिम ‘पिच’ तथा लगानीका लागि तयार पार्ने उद्देश्यले आयोजना गरिएको तीनदिने कार्यक्रमको पहिलो दिन पिच तयारी, कथा वाचन (Storytelling) र बजार तयारी (Market Preparation) मा केन्द्रित प्रशिक्षण सञ्चालन गरिएको हो।
कार्यक्रमले सहभागी उद्यमीलाई आफ्नो व्यवसायिक विचारलाई व्यवहारिक, दिगो र लगानीयोग्य व्यवसायमा रूपान्तरण गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखेको छ। तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणबाट सहभागीहरूले आफ्नो व्यवसायिक योजनालाई थप परिष्कृत गर्दै अन्तिम पिचका लागि तयारी गर्नेछन्।.jpeg)
नयाँ विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै TUBIC का निर्देशक प्रा. तारा प्रसाद भुसालले नयाँ उद्यमीका विचारलाई ठोस तथा दिगो व्यवसायमा रूपान्तरण गर्न प्रशिक्षण महत्वपूर्ण हुने बताए। उनले प्रशिक्षणमा मेण्टरिङ, व्यवसाय विकास, बजार परीक्षण (Market Validation) र लगानी तयारी (Investment Readiness) लाई मुख्य आधार बनाइएको जानकारी दिए।“आजको विचारलाई भोलिको प्रभाव (Impact) बनाउनु नै हाम्रो अपेक्षा हो,” निर्देशक भुसालले भने। उनका अनुसार TUBIC युवा उद्यमीहरूको यात्रामा निरन्तर साथ दिने उद्देश्यका साथ अघि बढिरहेको छ। उनले उद्यमशीलता विकासका लागि केवल व्यवसायिक विचार पर्याप्त नहुने भन्दै बजारको वास्तविक आवश्यकता, ग्राहकको समस्या, व्यवसाय सञ्चालन क्षमता र लगानीको सम्भावनालाई समेत ध्यान दिनुपर्नेमा जोड दिए।
८० प्रतिशत कार्यशाला, २० प्रतिशत प्रस्तुतीकरण
कार्यक्रमको मोडेल ८० प्रतिशत कार्यशाला र २० प्रतिशत प्रस्तुतीकरणमा आधारित रहेको TUBIC का उपनिर्देशक डा. प्रमोद पौडेलले जानकारी दिए। उनका अनुसार सहभागीहरूले तीन दिनसम्म केवल सैद्धान्तिक ज्ञान हासिल गर्ने नभई प्रत्यक्ष अभ्यास (Hands-on Practice) मार्फत सिक्ने अवसर पाउनेछन्। प्रशिक्षणमा सहभागीहरूलाई आफ्ना जिज्ञासा राख्न, प्रशिक्षक तथा मेण्टरसँग प्रत्यक्ष छलफल गर्न र व्यवसायिक समस्यामाथि व्यवहारिक समाधान खोज्न प्रोत्साहित गरिएको छ। “कार्यशालालाई सकेसम्म सहभागीमैत्री र अभ्यासमा आधारित बनाइएको छ। सहभागीहरूले आफ्ना व्यवसायिक चुनौती र सम्भावनाबारे खुलेर छलफल गर्न सक्ने वातावरण तयार गरिएको छ,” डा. पौडेलले बताए।
पिच तयारी र स्टोरीटेलिङमा जोड
कार्यक्रमको पहिलो सत्र ‘Pitch Preparation & Storytelling’ मा केन्द्रित थियो। बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन भएको सत्रमा Digital Nepal का संस्थापक तथा ICT Award 2018 विजेता श्री आदित्य राजले प्रशिक्षण दिएका थिए। उनले सफल व्यवसायिक पिचका लागि आफ्नो व्यवसायको कथा कसरी छोटो, प्रभावकारी र भावनात्मक रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिए। व्यवसायको समस्या, समाधान, लक्षित ग्राहक, बजारको सम्भावना र व्यवसायले सिर्जना गर्ने प्रभावलाई स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्नु नै राम्रो पिचको महत्वपूर्ण आधार भएको प्रशिक्षणमा जोड दिइयो।सहभागीहरूले आफ्ना व्यवसायको संक्षिप्त पिच (Brief Business Pitch) तयार पार्दै त्यसलाई प्रस्तुत गर्ने अभ्याससमेत गरेका थिए। यसले उद्यमीलाई वास्तविक लगानीकर्ता वा निर्णायकसमक्ष आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्न आवश्यक आत्मविश्वास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वास्तविक बजार परिदृश्यबारे व्यवहारिक प्रशिक्षण
पहिलो दिनको दोस्रो सत्र ‘Market Preparation & Pitch Continuation’ विषयमा केन्द्रित थियो। लन्च ब्रेकपछि दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको उक्त सत्रमा Digital & Beyond का श्री सगुन ढुंगाना र उनको टिमले प्रशिक्षण दिएका थिए।सत्रमा नयाँ व्यवसायले बजारमा प्रवेश गर्नुअघि गर्नुपर्ने तयारी, बजारको अवस्था बुझ्ने तरिका तथा आफ्नो पिचलाई बजारको वास्तविकतासँग जोड्ने विषयमा प्रशिक्षण दिइएको थियो।सहभागीहरूले बिहान तयार पारेको पिचलाई थप परिष्कृत (Refine) गर्ने अवसरसमेत पाए। प्रशिक्षक ढुंगाना र उनको टिमले वास्तविक बजार परिदृश्यअनुसार विभिन्न उदाहरण तथा केस प्रस्तुत गर्दै सहभागीलाई व्यवहारिक सुझाव दिएका थिए।बजारमा प्रवेश गर्नुअघि ग्राहकको आवश्यकता, प्रतिस्पर्धीको अवस्था, मूल्य निर्धारण, व्यवसायको सम्भावित जोखिम र बजारमा आफ्नो उत्पादन वा सेवाको स्थानबारे स्पष्ट हुनुपर्ने विषयमा समेत प्रशिक्षण केन्द्रित थियो।
आगामी सत्रमा लगानी, बजेट र अन्तिम पिच
कार्यक्रमका आगामी दिनहरूमा लगानी जोखिम तथा बजेट व्यवस्थापन, बजारमा प्रवेशको तयारी र अन्तिम पिच प्रस्तुतीकरण लगायतका विषयमा प्रशिक्षण जारी रहनेछ।कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले विज्ञ प्यानलसमक्ष आफ्ना व्यवसायिक योजना (Business Plan) प्रस्तुत गर्नेछन्। यस क्रममा उनीहरूले आफ्नो व्यवसायको सम्भावना, बजार, वित्तीय योजना, लगानी आवश्यकता र दीर्घकालीन प्रभावबारे प्रस्तुतीकरण गर्नेछन्।आयोजकका अनुसार कार्यक्रम श्रावण २९ गते अन्तिम पिच प्रस्तुतीकरणसँगै समापन हुनेछ। त्यसपछि भाद्र २ गते पुरस्कार घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
उद्यमीलाई बजार र लगानीसँग जोड्ने प्रयास
TUBIC को यो कार्यक्रमलाई नयाँ उद्यमीका लागि व्यवसायिक विचारलाई वास्तविक बजारमा उतार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालमा स्टार्टअप तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ–नयाँ विचार विकास भइरहे पनि ती विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्न बजार अध्ययन, व्यवस्थापन क्षमता, लगानी र प्रभावकारी प्रस्तुतीकरणको कमी देखिने गरेको छ।यस्तो अवस्थामा इन्क्युबेसन कार्यक्रमले उद्यमीलाई केवल व्यवसाय सुरु गर्ने ज्ञान मात्र नभई बजारमा टिक्न र विस्तार गर्न आवश्यक तयारी गराउने अपेक्षा गरिएको छ।कार्यक्रमको पहिलो दिन उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूमा आगामी सत्रप्रति थप जिज्ञासा र उत्साह देखिएको छ। ‘From Ideas to Impact’ अवधारणामार्फत TUBIC ले नयाँ उद्यमीका सिर्जनात्मक विचारलाई व्यवहारिक, दिगो र प्रभावकारी व्यवसायमा रूपान्तरण गर्ने दिशामा आफ्नो भूमिका थप मजबुत बनाउने प्रयास गरेको छ।