काठमाडौँ, ७ जेठ
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा B.Sc. Nursing अध्ययनरत विद्यार्थीहरूको होस्टेलको अवस्था अत्यन्तै दयनीय रहेको गुनासो सार्वजनिक भएको छ।
विद्यार्थीहरूको भनाइ अनुसार २–३ जना बस्न मिल्ने कोठामा ७–८ जनासम्म खाँदेर राखिएको छ। यसरी अत्यधिक भीडभाडमा राखिँदा आफूहरूलाई मानसिक तथा शारीरिक समस्या भइरहेको उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले कलेजले पैसा असुल्ने उद्देश्यले अमानवीय बसोबास व्यवस्था गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको अनुसार न्यूनतम मानवअधिकार र सुरक्षित बसोबासको वातावरण समेत सुनिश्चित गरिएको छैन।
“रुममा बस्नै मन लाग्दैन, सास फेर्नै गाह्रो हुन्छ,” एक विद्यार्थीले भनिन्, “राति छततिर गएर बस्छौँ। यहाँ पढ्ने वातावरण नै छैन। हामीमाथि अमानवीय व्यवहार भएको छ।”
भर्ना हुनुअघि कलेजले आवश्यक जानकारी नदिई पछि एकैपटक विद्यार्थीहरूलाई होस्टेलमा कोचेर राखिएको उनीहरूको आरोप छ।
“यो २–४ दिनको कुरा होइन, चार वर्ष यही कोठामा बसेर बिताउनुपर्छ,” अर्की विद्यार्थीले भनिन्, “कलेज प्रशासनलाई निवेदन पनि दियौँ, तर सुनुवाइ भएन।”
विद्यार्थीहरूले मौखिक गुनासो सुनुवाइ नभएपछि वैशाख १३ गते प्रिन्सिपललाई सामूहिक हस्ताक्षरसहित निवेदन दिएको बताएका छन्। तर प्रिन्सिपलले “पहिलेका सिनियरहरू पनि यसरी नै बसेका थिए, तिमीहरूले पनि एडजस्ट गर्नुपर्छ” भन्ने जवाफ दिएको उनीहरूको भनाइ छ।
यस विषयमा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अवस्थाबारे तुरुन्तै अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले तत्काल अनुगमन र छानबिनका लागि समिति गठन गर्ने बताउनुभयो।
कास्की–२ का सांसद उत्तम प्रसाद पौडेलले पनि शिक्षा र स्वास्थ्य मन्त्रालयसँग तुरुन्तै समन्वय गर्ने बताउनुभएको छ।
यता कलेजका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले तिरेको शुल्कअनुसार नै होस्टेल बसाइको व्यवस्थापन गरिएको दाबी गर्नुभएको छ। उहाँले बाहिर आएका गुनासाहरू सत्य नभएको समेत बताउनुभएको छ।
उहाँले शुल्क तिर्न तयार भए कलेजले थप सुविधा पनि उपलब्ध गराउन सक्ने बताउनुभयो।
विद्यार्थीहरूले मणिपाल शिक्षण अस्पतालको नर्सिङ छात्रावास तत्काल अनुगमन गरी दोषी कलेज प्रशासनमाथि कडा कारबाही गर्न माग गरेका छन्। यस विषयमा सम्बन्धित निकायबाट तत्काल छानबिन र आवश्यक कदम चालिनुपर्ने माग उठिरहेको छ।