भक्तपुर,२१ वैशाख
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासीका अस्थायी शिविरमा स्वास्थ्य उपचारदेखि पठनपाठनसम्मका सेवा सुरु गरिएको छ।
शिविरमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार तथा औषधि वितरण सुरु गरिएको छ। भक्तपुर अस्पतालका चिकित्सक, नर्स र प्राविधिक टोलीसँगै तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञको सहभागितामा १५८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराइरहेका बालक, नियमित ड्रेसिङ आवश्यक पर्ने बिरामी, पक्षघात भएका ज्येष्ठ नागरिक, दृष्टिविहीन परिवार, कुष्ठरोगी, हिँड्न र बोल्न नसक्ने तथा सुस्त मानसिक अवस्थाका व्यक्तिहरू, सुत्केरी र गर्भवती महिलालगायत विभिन्न स्वास्थ्य समस्याका बिरामीहरू रहेका छन्।
स्वास्थ्य सेवासँगै शिविरमा शिक्षा र मनोपरामर्श सेवा पनि सञ्चालनमा ल्याइएको छ। क्षयरोगको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग एआई प्रविधियुक्त एक्स–रे मेसिनमार्फत परीक्षण गर्न अनुरोध गरिएको छ।
किरण थापा मगरका अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले शिविरमा बसुन्जेल यहाँ रहेका बिरामीहरूको स्वास्थ्य उपचारको जिम्मेवारी लिनेछ। यस विषयमा संघीय स्वास्थ्य मन्त्रालयसँगसमेत समन्वय भइरहेको छ।
त्यस्तै, शिविरमा रहेका २६ जना बालबालिकाका लागि चेतनामूलक कक्षासहित अस्थायी रूपमा नियमित पठनपाठन पनि सुरु गरिएको छ।