काठमाडौं, २० वैशाख
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै विभिन्न कार्यक्रम आयोजना गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्मा ले शुभकामना सन्देश जारी गर्दै पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था तथा पत्रकारको पेसागत र भौतिक सुरक्षामा बढ्दो जोखिमका कारण प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ।
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका नियन्त्रण वा हस्तक्षेपविरुद्ध सञ्चार क्षेत्रले सधैं सशक्त प्रतिवाद गर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रता हननका घटना बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो।
अध्यक्ष शर्माले प्रेस स्वतन्त्रताको रक्षाका लागि सञ्चारकर्मी, नागरिक समाज र विभिन्न पेसागत संघसंस्थाबीच एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ।
यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर क्षेत्रमा ऐक्यबद्धता र्याली आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माण स् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको र्यालीमा पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विश्व प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ का दिन विश्वभर मनाइन्छ। यस वर्षको दिवस पनि प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।