बाँके,१० वैशाख
जानकी गाउँपालिकाले पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा बास नेपालको सहजीकरणमा सम्पन्न कार्यक्रम गाउँपालिकाको परिसरमा आयोजना गरिएको हो।
आर्थिक वर्षको दोस्रो चौमासिकभित्र प्रदान गरिएका सेवा तथा सुविधाको प्रभावकारिता मूल्यांकन गर्ने उद्देश्यले गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाले विभिन्न सुधारात्मक प्रतिबद्धताहरू सार्वजनिक गरेको छ।
गाउँपालिकाद्वारा प्रस्तुत प्रतिबद्धतामा शैक्षिक अनुदान तथा शैक्षिक सुधारका कार्यक्रमलाई थप व्यवस्थित र पारदर्शी बनाउने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषा समावेश गर्ने, वडा नं. ३ स्थित गौशालालाई व्यवस्थित गर्ने, वडा नं. ३ वन्जाडे गाउँमा कृषि सिँचाइका लागि विद्युत पोल जडान प्रक्रिया बैशाख मसान्तभित्र अघि बढाउने, तथा वडा नं. ४ मा देखिएको खानेपानी समस्या कार्यविधिअनुसार समाधान गर्ने विषय समावेश छन्। यस्तै, लक्षित वर्ग उत्थान कार्यक्रमलाई अझ पारदर्शी र जवाफदेही बनाउँदै आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्ने पनि प्रतिबद्धता जनाइएको छ।
करिब एक घण्टा चलेको खुला छलफलमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ प्रमुख सरोकारवाला रूपमा सहभागीता रहेको थियो। उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागी अनिल मिश्र, रसिद अहमद राई, राजन बर्मा, मोहन बिष्ट, कमलेश कुमार मिश्र, रामानन्द तमोली, धर्म गोडिया लगायतले विकास निर्माणमा ढिलासुस्ती, शिक्षा र स्वास्थ्य सेवामा समस्या तथा लक्षित वर्ग उत्थान कार्यक्रम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले नागरिक प्रतिवेदन तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साझा सार्वजनिक प्रतिबद्धता बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गर्नुभएको थियो।