काठमाडौं, १५ पुस
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायका लागि तमु ल्होसार नयाँ वर्षको प्रतीक पर्व हो, जसलाई भव्य रूपमा मनाउने परम्परा छ।
तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पुग्ने भएकाले पुस महिनामा यो पर्व मनाइने विश्वास गरिन्छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुनमा ल्होसार मनाइने चलन रहेको जानकारहरू बताउँछन्।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लामो तथा रात छोटिँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको छ। तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
पर्वका अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन्। साथै, गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिएको छ।
यसै अवसरमा आइतबारदेखि टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ, जहाँ हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।