काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिकका विजेताहरूको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो पाक्षिकका १७ जना विजेतामध्ये १६ जनाको नाम घोषणा गर्नुभएको हो।
घोषित विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकतर्फको १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कारसमेत घोषणा गरिएको थियो। पहिलो पाक्षिकका बम्पर विजेता हेमराज जोशी र उहाँकी धर्मपत्नी तुलसी पन्तले बम्पर पुरस्कारको घोषणा गर्नुभएको हो। कार्यक्रममा पहिलो पाक्षिकका अर्का विजेता हिमाल अर्यालको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले ‘बिल लिने र बिल दिने’ संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कार्यक्रमले नागरिकलाई कर प्रणालीप्रति सचेत बनाउनुका साथै राज्यको राजस्व संकलन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अर्थमन्त्री वाग्लेले यस अभियानका दुई प्रमुख उद्देश्य रहेको बताउनुभयो। पहिलो, राज्यको राजस्व वृद्धिमा सहयोग पुर्याउनु र दोस्रो, आम नागरिकलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रोत्साहित गर्नु रहेको उहाँको भनाइ छ।
उहाँले पुरस्कार प्राप्त गर्ने उपभोक्ताहरूलाई आफ्नो स्थानीय तह तथा समुदायमा करसम्बन्धी सचेतना फैलाउने अभियानको विशेष दूतका रूपमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
“राज्यले तपाईंहरूलाई पुरस्कृत गरेर सचेत उपभोक्ता अभियानका लागि लगानी गरेको छ। तपाईंहरू आफ्नो गाउँ, पालिका र निर्वाचन क्षेत्रमा यस अभियानको बिम्ब हुनुहुन्छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।
उहाँले विजेताहरूले पुरस्कार प्राप्त गरेपछि आफ्नो व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई बिल लिने र बिल दिने संस्कृतिको विस्तारमा समेत योगदान गर्नुपर्ने बताउनुभयो। उपभोक्ताले प्रत्येक वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने बानी विकास गरेमा कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
पुरस्कार घोषणा कार्यक्रममा सुदूरपश्चिमदेखि गैँडाकोटसम्मका विजेताहरूको सहभागिता रहेको थियो। विभिन्न स्थानबाट छनोट भएका उपभोक्तालाई प्रोत्साहन गर्दै कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ।
अर्थमन्त्री वाग्लेले ‘करदाता प्रोत्साहन पुरस्कार’ को दोस्रो संस्करणअन्तर्गत पुरस्कृत हुने सम्पूर्ण उपभोक्तालाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने संकेत गर्नुभयो।
सरकारले कर प्रशासनलाई थप प्रभावकारी बनाउने तथा नागरिकलाई औपचारिक अर्थतन्त्रमा जोड्ने उद्देश्यले ‘बिल लिने र बिल दिने’ संस्कृतिलाई प्राथमिकतामा राख्दै आएको छ। करदाता प्रोत्साहन पुरस्कारले उपभोक्तालाई बिल माग्न प्रोत्साहित गर्नुका साथै करसम्बन्धी जनचेतना विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।