काठमाडौं, १६ वैशाख
देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षाको गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा अधिकांश स्थानमा बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै तराईका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशका अधिकांश हिमाली र पहाडी भूभागमा बदली कायम रहने जनाइएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ भने तराईका केही स्थानमा हुरीबतास चल्न सक्ने अनुमान गरिएको छ।