काठमाडौँ,१ चैत
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ।
समारोहमा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव श्री केदारनाथ शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्त्व र आवश्यकता बारे प्रकाश पार्नुभयो।
चैत्र १८ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल ३० जनाको सहभागिता रहेको छ। विस २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भई सकेका छन्।
समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्व विद्यालयका रेक्टर तथा उच्च पदाधिकारीहरू, विभिन्न मन्त्रालय लगायत सरकारीरगैर सरकारी संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरू, रथीवृन्द, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यस किसिमको उच्च स्तरको तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवं धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रहरू बिच कार्यगत एकता कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ।
.