काठमाडौँ, ७ मंसिर
सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको जनाइएकाे छ। अरनिको राजमार्गअन्तर्गत १५.८ किलोमिटर लामो यो खण्डलाई ६ लेनमा विस्तार गर्न दुई वटा प्याकेजमा कार्य अघि बढाइएकाे छ।
सूर्यविनायक–साँगा ८.३ किलोमिटर खण्डको निर्माण प्रगति ४५ प्रतिशत रहेको छ, भने साँगा–धुलिखेल ७.५ किलोमिटर खण्डमा ५५ प्रतिशत काम पूरा भएको छ। दुवै प्याकेजको निर्माण हाल तीव्रगतिमा भइरहेको बताइएकाे छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थल अनुगमन गरी निर्माण अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अनुकूल मौसमको अवसरमा निर्माणलाई थप तीब्रता दिन निर्देशन दिनुभयो।
मन्त्री घिसिङले निर्णयमा ढिलाइ भइरहेका विषय तत्काल समाधान गर्न, आवश्यक जनशक्ति र उपकरण थप गरी आगामी असारभित्र सडक विस्तार सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो। अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उहाँले उल्लेख गर्नुभयो।
सडक सीमा विवाद, घरटहरा हटाउने समस्या र बजेट अभावका कारण यसअघि परियोजनामा ढिलाइ भएको थियो। चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।
मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो।
दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण ९५ प्रतिशत पूरा भइसकेको छ। साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।