काठमाडौं,३१ भदौ
राजधानीको सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन निरन्तर प्रयास भइरहेको छ। बढ्दो जनसङ्ख्या, अनियोजित शहरीकरण र दैनिक लाखौं सवारीसाधनको चापबीच सडक डिभिजन काठमाडौंका प्रमुख नारायण दत्त भण्डारीले आफ्नो कार्यकाललाई अवसरमा रूपान्तरण गर्नुभएको छ।
२०८० असोज १४ गतेदेखि प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको भण्डारीको नेतृत्वमा ४७२ किलोमिटर सडक सञ्जालमा नियमित मर्मत–सम्भार, स्तरोन्नति र नयाँ निर्माणका काम तीव्र गतिमा अघि बढेका छन्। डिभिजनको दाबीअनुसार यात्रुले अहिले ‘खाल्डाखुल्डीमुक्त सडक’ अनुभव गर्न थालेका छन्।
उहाँको कार्यकालमा ९० किलोमिटर सडक कालोपत्रे (ओभरलेसहित), ८६ हजार वर्गमिटरमा खाल्डाखुल्डी मर्मत तथा २५ हजार वर्गमिटर सडक सुरक्षाका लागि रङरोगन गरिएको छ। दुई वटा नयाँ पुल पनि निर्माण सम्पन्न भएका छन्। यससँगै वार्षिक लक्ष्यको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न हुनु डिभिजनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
भण्डारीले अघि बढाएका केही दीर्घकालीन आयोजना उल्लेखनीय छन्। सडक विभागको अत्याधुनिक केन्द्रीय भवन ६० प्रतिशत प्रगतिमा पुगेको छ भने फागुनभित्र सम्पन्न गर्ने लक्ष्य छ। थानकोट–चित्लाङ सडक पिच गर्ने ठेक्का सम्झौता भइसकेको छ। महाराजगञ्ज–धोबीखोला सडकमा ‘चाइनिज शैली’मा आधा काम सम्पन्न भइसकेको छ। मिनभवन र बबरमहलमा आकाशे पुल निर्माण थालिएको छ। कलंकी–नागढुंगा सडकलाई जापानी सहयोगमा बनेको खण्डसँग मिल्दोजुल्दो गुणस्तरमा ओभरले गर्ने तयारी भइरहेको छ।
साँखु–भोटेचौर सडक विश्व बैंकसँग सहकार्यमा स्तरोन्नति गरिएको छ भने वर्षौंदेखि रुग्ण अवस्थामा रहेको पेप्सीखोला–ब्रह्मखेल सडक पनि सम्पन्न भएको छ। असोज १०–१२ को वर्षातमा क्षतिग्रस्त सडक छोटो समयमा पुनःस्थापना गरिएको छ। साथै, सडक क्षेत्राधिकारबारे जनतालाई सजग बनाउन सडकका पोलमा “स.वि.” लेखेर गुनासा–सुझाव प्रक्रिया सहज बनाइएको छ।
भण्डारीले भविष्यका लागि केही सम्भाव्यता अध्ययन पनि अघि बढाउनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटोमा फ्लाईओभर निर्माणको अध्ययन सकारात्मक प्रतिवेदनसहित सम्पन्न भइसकेको छ। त्यस्तै, धुलोमुक्त सडक बनाउन नागढुंगा–कलंकीको बल्खु खोलामा ‘भेहीकल वासिङ सेन्टर’ स्थापना सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ, जसलाई पाइलट प्रोजेक्टका रूपमा कार्यान्वयन गर्ने तयारी छ।
डिभिजनले सडक निर्माणसँग सम्बन्धित सम्पूर्ण काम एउटै निकायमार्फत कार्यान्वयन गर्ने सुझावसमेत अघि सारेको छ, जसले प्रक्रियागत जटिलता कम गरी कामको गति बढाउने अपेक्षा गरिएको छ।
सडक डिभिजन प्रमुख नारायण दत्त भण्डारी भन्छन्, “सडक सबै जनताको साझा सम्पत्ति हो। यसको मर्मत, स्तरोन्नति र विस्तारमा सरकार मात्र होइन, जनताको सहकार्य पनि अपरिहार्य छ।”