काठमाडौँ,१९ भदौ
नेपालको आर्थिक र सामाजिक विकासमा सडक पूर्वाधारको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ। यातायात प्रणालीलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग (Department of Roads – DoR) स्थापना गरेको हो। विभाग नेपालको सबैभन्दा ठूलो पूर्वाधार निर्माण गर्ने सरकारी निकाय हो, जसले राष्ट्रिय राजमार्ग, पुल, सुरुङमार्ग, मध्यमार्ग तथा अन्य रणनीतिक सडकहरूको योजना, निर्माण, मर्मत र व्यवस्थापन गर्छ।

नेपालमा व्यवस्थित सडक विभागको आवश्यकता २०१३ सालतिरै महसुस भएको हो। २०२० सालमा तत्कालीन भौतिक योजना आयोगको सिफारिसमा सडक निर्माण र मर्मतका लागि छुट्टै प्राविधिक इकाइ गठन गरियो भने २०२९ सालमा सडक विभागको औपचारिक स्थापना भयो। विभाग गठनअघि सडक निर्माणमा सेना र विदेशी सहयोग (भारत, चीन) मा भर पर्नु परेको थियो। तर विभाग गठनपछि पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्गजस्ता ठूला परियोजनाहरू व्यवस्थित ढंगले अघि बढ्न थाले।

आज विभागमा हजारौँ इन्जिनियर, प्राविधिक र कर्मचारी कार्यरत छन्। काठमाडौँस्थित केन्द्रिय कार्यालय महानिर्देशकको नेतृत्वमा सञ्चालन हुन्छ भने प्रदेशअनुसार विभाजन गरिएको क्षेत्रीय कार्यालयहरूले प्रमुख राजमार्ग र रणनीतिक सडक हेर्छन्। जिल्ला स्तरमा रहेका डिभिजन सडक कार्यालयले स्थानीय परियोजना र पुल मर्मतमा ध्यान दिन्छन्। यस्तै, पुल महाशाखा, भू–प्राविधिक इकाइ र सुरुङ तथा उन्नत प्रविधि इकाइजस्ता विशेष संरचनाले विभागलाई अझ प्रभावकारी बनाएका छन्।

हाल विभागले हजारौ किलोमिटर रणनीतिक सडकको व्यवस्थापन गरिरहेको छ। नेपालभर रहेका करिब ६,००० भन्दा बढी पुल विभागकै जिम्मामा छन्, जसमा कोशी, गण्डकी र कर्णाली नदीमा बनेका ठूला आधुनिक पुल उल्लेखनीय उपलब्धि हुन्। विभागले हाल सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ, जसमा नागढुङ्गा सुरुङमार्ग लगायतका परियोजना उदाहरणीय छन्। यसका साथै, विभागले दीर्घकालीन रोड सेक्टर मास्टरप्लान कार्यान्वयनमा ल्याएको छ, जसअन्तर्गत पूर्व–पश्चिम राजमार्ग विस्तार, मध्य पाहाडी सडक योजना, ठूला पुल र अन्तर्राष्ट्रिय सहकार्यमा आधारित परियोजनाहरू अघि बढाइएका छन्।

तर विभागसँग चुनौती पनि उत्तिकै छन्। हिमाल र पहाडमा सडक निर्माण प्राविधिक दृष्टिले जटिल हुन्छ भने वर्षायाममा भूस्खलन र बाढीले ठूला क्षति पुर्याउने गर्छ। मागअनुसार बजेट अपुरो हुनु, ठेक्का प्रक्रियामा ढिलाइ र पारदर्शिताको कमीले पनि काममा समस्या देखिन्छ। कतिपय सडक गुणस्तरीय परीक्षणबिना निर्माण हुने गरेका छन् भने अव्यवस्थित सडकले वातावरणीय असर पुर्याउँछन्। सडक सुरक्षाको चुनौती अझ गम्भीर छ, किनकि हरेक वर्ष कयौ मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन्।

यी चुनौतीलाई सामना गर्न विभागले भविष्यका प्राथमिकता तय गरेको छ। सडक निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गर्ने, अनिवार्यरूपमा Drainage प्रणाली बनाउने, वातावरणमैत्री प्रविधि र वृक्षारोपणलाई प्राथमिकता दिने योजनामा विभाग छ। काठमाडौं, पोखरा र विराटनगरमा सुरुङमार्ग र फ्लाईओभरमार्फत यातायात सहज बनाउने तयारी भइरहेको छ। विभागले GIS प्रणाली, स्मार्ट ट्राफिक र रोड एसेट म्यानेजमेन्ट सिस्टममार्फत डिजिटल प्रविधि भित्र्याउने कामलाई पनि अघि बढाइरहेको छ। ग्रामीण र विभागीय सडकबीच समन्वय गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना पनि बनाइएको छ। द्रुतमार्ग (एक्सप्रेसवे) प्रणालीलाई प्राथमिकतामा राखी नेपाललाई भारत र चीनसँग जोड्ने योजनामा काम भइरहेको छ। सुरक्षित, टिकाउ र वातावरणमैत्री सडक पूर्वाधारका लागि विभागले अन्तर्राष्ट्रिय सहयोग अझ बढाउने तयारी गरेको छ।

सडक विभाग नेपालको सबैभन्दा महत्वपूर्ण विकास निकाय हो। यसको कामले केवल सडक निर्माण मात्र होइन, सम्पूर्ण अर्थतन्त्र, सामाजिक सेवा, पर्यटन र व्यापारलाई गति दिने काम गरेको छ। उपलब्धि महत्त्वपूर्ण भए पनि गुणस्तर, पारदर्शिता र सडक सुरक्षा चुनौती अझ समाधान हुन बाँकी छ। यदि विभागले दीर्घकालीन रणनीति, प्राविधिक अनुशासन, पारदर्शिता र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउन सके, सडकमार्फत समृद्ध नेपालको सपना अवश्य साकार हुनेछ।
