काठमाडौं, ६ भदौ
नेपाल शिक्षक महासंघले आगामी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले भदौ ९ गतेदेखि सुरु हुने आन्दोलनका विस्तृत कार्यक्रम सार्वजनिक गरेको हो। अबको आन्दोलन विगतभन्दा कडा र सशक्त हुने महासंघले चेतावनी दिएको छ।
महासंघका अनुसार, भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइने र त्यहाँ दुई घण्टा प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम छ।
त्यसैगरी, भदौ १३ गते सबै पालिकामा, र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ। भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र अवधारणात्मक छलफल, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने महासंघले जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भन्नुभयो, “सरकारसँग गरिएको २७ बुँदे सहमति बटमलाइन रहन पुगेको छैन र मागहरू पुरा नगरेको अवस्थामा अबको आन्दोलन विगतभन्दा कडा र दबाबपूर्ण हुने छ।” उहाँले विद्यालय शिक्षा विधेयक अहिलेको अवस्थामा पारित नहुने र त्यसको अध्ययन र समीक्षा पछि मात्र महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो।
सुवेदीले भन्नुभयो, “प्रतिनिधिसभा समितिले विधेयक बुझाएपछि हामी त्यसको सबै अक्षर–अक्षर अध्ययन गर्छौं र आवश्यक परे त्यसबारे महासंघको तर्फबाट सार्वजनिक घोषणा गर्नेछौं।”