भक्तपुर, १६ असार
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा बस्दै आएकी गोमा श्रेष्ठले आफ्नो संघर्षमय यात्रालाई ४ जीपीएसहित सफलताको कथामा बदल्न सफल भएकी छिन्। मध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा गोमा स्थानीय किसानको धान रोपाइँ सकेर फर्किरहेकी थिइन्। जब उनले अनलाइनमार्फत आफ्नो नतिजा हेर्दा सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेको देखिन्, उनको खुसीको सीमा रहेन।
सामान्य सामुदायिक विद्यालयमा पढेर पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएकी गोमा भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बनेकी छिन्। साथै, उनी चाँगुनारायण नगरपालिकाबाट सर्वाधिक अंक ल्याउने विद्यार्थीसमेत हुन्।
रामेछापको खनियाँपानी स्थायी ठेगाना भएकी गोमा चार वर्षको उमेरमा बाबुआमासँग भक्तपुर आएकी थिइन्। गोमाका बाबु मीनबहादुर श्रेष्ठले कमजोर आर्थिक अवस्था र छोरीको पढाइको चाहनाका कारण आफ्नो थातथलो छाडेर भक्तपुरमा इँटाभट्टामा काम थालेको सुनाउनुभयो।
"धान रोपेर, इँटा पारेर भए पनि छोरीलाई पढाउने सपना बोकेर भक्तपुर आएको थिएँ," मीनबहादुरले भन्नुभयो, "छोरीको पढाइलाई सहज बनाउने मुख्य कारणले हामी यहाँ सरेका हौं।"
गोमा बिहान साँझ इँटाभट्टामा इँटा ओल्टाइपल्टाई गर्दै, दिउँसो विद्यालयमा पढ्दै हुर्किइन्। कक्षा ९ सम्म उनले यस्तो कठिन र व्यस्त दैनिकीलाई निरन्तरता दिइन्। कक्षा १० मा पुगेर भने उनले पढाइलाई पहिलो प्राथमिकता दिइन्। बुबाआमाले पनि यस वर्ष पढाइमा ध्यान दिन सल्लाह दिएपछि उनले मेहनतमा कुनै कसर बाँकी राखिनन्।
"एक वर्ष मिहिनेत गर्छु भनेर मन कडा पारेँ, त्यसको परिणाम आजको सफलताले दिएको छ," गोमाले भावुक हुँदै सुनाइन्।
गोमाको ठूलो सपना डाक्टर बन्ने रहेको छ। उनले विज्ञान संकायमा प्लस टु गरेर छात्रवृत्तिमा एमबिबिएस पढ्ने लक्ष्य लिएको बताइन्। "म एउटा असल डाक्टर बनेर बाबुआमाको सपना पुरा गर्नु चाहन्छु। देश र जनताको सेवा गर्न चाहन्छु। त्यसका लागि म अझ कडा मिहिनेत गर्नेछु," गोमाले आत्मविश्वासका साथ भनिन्।
गोमाको संघर्ष र सफलता आजको धेरै किशोरीहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ।