राष्ट्रिय समाचार समिति
काठमाडौँ, २७ जेठ
रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीले आज राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन्।
अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शान्तराम बिडारीले बताउनुभयो। सो क्रममा विद्यार्थीले फोटो प्रदर्शनीसँगै राससको सङ्ग्रहालय, समाचार सङ्कल्न र सम्पादन कक्षको अवलोकन गरेका थिए। पत्रकारिताको सैद्धान्तिक अध्ययनसँगै राससको फोटो प्रदर्शनीले विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको उहाँले बताउनुभयो।
“पत्रकारिताको सिद्धान्त धेरै पढ्छाँै, त्यसको व्यवहारिक ज्ञान र जटिलता बुझनका लागि विद्यार्थीलाई स्थलगत भ्रमण गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रा कतिपय विद्यार्थी पत्रकारिताको अभ्यास गरिरहनुभएको छ। विद्यार्थीलाई राससको अवलोकन गराउँदा समाचार कसरी सङ्कलन, सम्पादन र सम्प्रेषण हुन्छ त्यो प्रक्रिया बुझाउन सहयोग पुगेको छ।”
राससका महाप्रबन्धक सिद्धराज राईले देशभित्रका सम्भावनालाई प्रदर्शनीमार्फत प्रस्तुत गर्न खोजिएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रदर्शनीबारे जानकारी दिँदै जलवायु परिवर्तनले नेपालमा परेको असरलाई विश्व समुदायसम्म मुद्दाका रूपमा पुर्याउन पहल गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
“देशमा केही भएन भन्ने भाष्यले नयाँ पुस्तामा निराशा छ। राससले देशमा भएका सम्भावनालाई प्रदर्शनीमार्फत देखाउन खोजिएको छ”, उहाँले भन्नुभयो।
विद्यार्थीले प्रदर्शनी प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत विपिन बरालले राससको फोटो प्रदर्शनीलाई रोचक र सन्देशमुलक भएको प्रतिक्रिया दिनुभयो। पहिलो पटक समाचार कक्ष अवलोकन गर्नुभएका स्नातक दोस्रो वर्षमा अध्ययनरत कविता पौडेल र सूचना घलानले आफूहरुलाई पत्रकारिता विषयबारे बुझ्न मद्दत पुगेको बताउनुभयो। स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत निशा भण्डारीले तस्बिर प्रदर्शनीको अवलोकन गरेपछि पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभयो।
यही जेठ ११ गतेदेखि सुरु भएको तस्बिर प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धीसहित ९६ तस्बिर राखिएका छन्।