काठमाडौँ । विद्यालय शिक्षा विधेयकको छलफल तिहार पछि मात्रै हुने भएको छ । अघिल्लो वर्ष भदौमा संसद्मा दर्ता भएको विधेयक एक वर्षमा संशोधनकर्तासँग छलफल सकिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।
सरकारले २०८० भदौ २७ मा संसद्मा दर्ता गरेको विधेयकमा एक सय ५४ जना सांसदले संशोधन हालेका थिए । विधेयक माथि संशोधन हाल्नेमध्ये ४० जना सांसद अनुपस्थित भए पछि प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक छलफल टुङ्ग्याएको हो ।
छलफलमा सहभागी सांसदहरूले सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता अनुसार नै शिक्षा ऐन बनाउनु पर्ने बताएका छन्। दफावार छलफल टुङ्गो नलगाएसम्म संशोधनकर्तासँगको छलफलको खासै अर्थ हुँदैन ।
एमाले निकट निजामती कर्मचारी संगठन शिक्षा मन्त्रालयको विभागीय कार्य समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा भट्टराईले विधेयकमा धेरै संशोधन भएकोले छलफलमा समय लागेको बताउनुभयो । दसैँ तिहारको बिचमा विधेयकको छलफल कसरी अघि बढाउने भन्ने छलफल गरेर तिहारपछि निष्कर्षमा लैजाने गरी अघि बढ्न लागेको उहाँले बताउनुभएको हो ।
'संशोधन धेरै भएकोले अलमल जस्तो भयो। अब समिति र मन्त्रालय एउटा निष्कर्षमा पुगेका छौँ । संशोधनकर्तासँगको छलफल सकिएको छ,’ भट्टराईले भन्नुभयो,‘अब विधेयक कसरी अघि बढाउने भन्ने बाटो पहिल्याएका छौँ । समितिले देखाएको सहज वातावरणले समिति र मन्त्रालय बिच विश्वासको वातावरण बनेको छ ।’
विधेयक माथि संशोधन हाल्ने संशोधनकर्तासँगको अन्तिम छलफल असोज ४ सकिएको हो। प्रदेश स्तरमा सुझाव संकलन गरेर दफावार छलफल सुरु गर्ने कि सिधै दफावार प्रवेश गर्ने भन्ने प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्योलमा रहेको छ । मन्त्री भट्टराईले निजामती विधेयक र शिक्षा विधेयक पारित गरेपछि सरकारप्रति हुने गुनासो हल हुने बताउनुभयो ।