काठमाडौम । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा खड्ग के.सी र रजिष्ट्रारमा प्रा.डा केदारप्रसाद रिजाल नियुक्त हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९(१) बमोजिम शिक्षाध्यक्ष र दफा २०(१) बमोजिम रजिष्ट्रार पदमा प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको सिफारिसमा उहाँहरुलाई मिति २०८०।१२।३० को निर्णयानुसार नियुक्त गर्नुभएको हो ।
शिक्षाध्यक्ष प्रा.डा के.सी मोदी गाउँपालिका ५, पर्वत स्थायी घर भई अन्र्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति विभागका पूर्व प्रमुख समेत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयमा स्नातकोत्तर उहाँले जापान सरकारको छात्रवृत्तिमा जापानको नागासाकी विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय सम्वन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
जापान सरकारको मोनबुशो संस्थामा सन् २००० देखि सन् २००९ सम्म र जापान फाउन्डेसनमा सन् २०१२ जुलाई देखि मार्च २०१३ सम्म आवद्ध रही महत्वपूर्ण योगदान पुयाउनुभएका उहाँ चिनको सिचुवान विश्वविद्यालयको अतिथि प्राध्यापक साथै नेपाली सेना कमाण्ड र स्टाफ कलेज, एपिएफ कमाण्ड र स्टाफ कलेजमा अतिथि प्राध्यापकको रुपमा संलग्न हुनुहुन्छ ।
त्यसैगरी टोखा नगरपालिका ११ काठमाडौं स्थायी घर भई बातावरण विज्ञान विषयका प्राध्यापक रहनुभएका नवनियुक्त रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजाल वातावरण विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवम् नेपाल खुला विश्वविद्यालयमा विज्ञान स्वास्थ्य तथा प्रविधि संकायका डिन समेत रहनुभएको थियो ।
प्रा.डा रिजालले भारतको पूणे विश्वविद्यालयवाट बातावरण विज्ञानमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी र रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले २०८१।०१।०२ मा कीर्तिपुर स्थिति कार्यालयमा पदवहाली गर्नुभएको छ ।