चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै रहेको बताउनुभएको छ ।
कालिका नगरपालिकाको भिमोदय नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले पाठ्यक्रमसँगै बाह्य विषयमा ज्ञान हाँसिल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोर्ष साँघुरो अध्ययन मात्रै होइन, कोर्षमा अध्ययन गरेर विशिष्टता हासिल गर्नुपर्यो, कोर्ष विद्यालयका किताबमा हुन्छ, त्योभन्दा बाहिर सिक्ने कुरा धेरै छन् ।”
कोर्ष बाहिर बुझ्ने धेरै कुरा भएको उल्लेख गर्दै उहाँले सिक्ने र अपनाउनेसमेत धेरै कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी ‘स्टार’ हुनुपर्दछ, बालबालिकालाई विशेष व्यक्तित्व, विशिष्ट व्यक्तित्वका रुपमा विकास गर्ने प्रयास गर्नुपर्छ ।” परिवार र समाजका लागि एउटा दृष्टान्त नागरिकका रुपमा यहाँका विद्यार्थीहरु आउनुपर्ने उहाँले बताउनुभयो ।
ओलीले भन्नुभयो, “आफ्नो घरको आँगनको मात्रै नभइ प्रसान्त महासागरमा पौडी खेल्नसक्ने हुनुपर्छ ।” उहाँले शिक्षा मनोबल उठ्ने खालको हुनुपर्ने उल्लेख गर्दै विद्यार्थी असफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिदा नमिल्दा असफल हुने हुन, रुची एउटामा हुन्छ, पढ्न अर्कोमा पर्छ, रुचीअनुसारको विषय पढ्न पाउनुपर्छ ।”
विद्यार्थीलाई पहिले नै फेल भनेर हतोत्साहित गर्न नहुने उहाँको सुझाव थियो । रोजगारी खोज्ने नभइ उद्यमशिलता विकास गरेपछि अरुलाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले विद्यालयको स्वर्णद्धार, स्वर्ण स्तम्भ र स्वर्ण स्मारिक अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कमलप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य मछिन्द्र पाण्डे, विद्यालयका प्रध्यानाध्यापक इन्द्रनाथ पौडेल लगायतले बोल्नुभएको थियो ।