रोल्पा, २७ कात्तिक (रासस) :
पश्चिमी वायुको असरले अबको दुई÷तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।” आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । भोलि सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
–––
स्थानीय मतदाताको अपेक्षा बाह्रैमहिना चल्ने सडक, निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा स्वदेशमै रोजगारी जस्ता बिषय पनि उम्मेदवारले प्रतिबद्धता पत्रमा समेटेका छन् । “दलहरुले घोषणा पत्र जारी गर्दा आकाशको तारा खसाल्ने गरी ल्याउँछन् कार्यान्वयन भने निकै फितलो हँुदा घोषणा पत्रप्रति जनताको रुचि छैन”, महिला अगुवा तीर्था आचार्यले भन्नुभयो, “महिला हिंसा, वालविवाह, आत्महत्याको अवस्था पनि भयावह भएपनि दलहरुको घोषणा पत्र सडक पुलपुलेसामा सीमित छन् ।”
निर्वाचनका लागि रोल्पामा ८६ मतदानस्थलको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यगरी तीन भागमा बाँडेर सुरक्षाबन्दोबस्ती गरेको वताएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार ३१ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ । जिल्लाका अति संवेदनशील मतदानस्थलमा थवाङ गाउँपालिकामा ३, रोल्पा नगरपालिकामा २, त्रिवेणी गाउँपालिकामा १, रुन्टीगढी गाउँपालिकामा ६, परिवर्तन गाउँपालिकामा २, गङ्गादेव गाउँपालिकामा ६, माडी गाउँपालिकामा १, सुनछहरी गाउँपालिका ५ र लुङ्ग्री गाउँपालिकामा पाँच रहेका छन् ।
यस्तै जिल्लाका ४२ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा स्रोतले जानकारी दिएको छ । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेकोमा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर जिल्ला सुरक्षा समितिको सिफारिसमा पाँच वटा मतदान केन्द्र थपिएको हो ।
जिल्लामा स्थायी एक सय ७५ र अस्थायी दुई सहित एक सय ७७ वटा मतदान केन्द्र कायम गरिएको छ । अस्थायी मतदान केन्द्रको रुपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । अस्थायी मतदान केन्द्रका कारागारका कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिकमा मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिनुभयो ।
मतदानस्थलवाट मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङसम्म मतपेटिका सुरक्षित रुपले ल्याउने गरी सुरक्षा योजनासमेत बनिसकेको सुरक्षा स्रोतले जनाएको छ । प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सातसहित रोल्पामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा निर्वाचन आचारसंहिताको बारेमा आफूहरुले सुक्ष्म ढङ्गले अनुगमन गरिरहेको निर्वाचन आचारसंहिता अधिकृत रमेश घिमिरेले वताउनुभयो । “अहिले सम्म आचारसंहिता उलंघनका घटना खासै भएका छैनन”, घिमिरेले भन्नुभयो । जिल्लामा हरेक स्थानीयतहमा मतदाता शिक्षा सम्पर्क व्यक्ति नियुक्ती गरि तालिम पश्चात संवन्धित स्थानीय तहहरुमा पठाएको छ । उनीहरुले जिल्लाका ७२ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मतदाता शिक्षाका लागि तालिमपश्चात परिचालन गरिएको निर्वाचन अधिकारी डाँगीले बताउनुभयो ।
मतदाता शिक्षामा खट्ने महिला स्वास्थ्य स्वयमसेविकाको खर्च व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने डाँगीले जानकारी दिनुभयो । स्थानीयतहहरुमा नमूना मतदानको काम समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
विस २०७९ साल वैशाख ३० को स्थानीयतह निर्वाचनमा नेकपा माओवादी केन्द्रले १० मध्ये सात स्थानीयतहको अध्यक्ष उपाध्यक्ष जितेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुई अध्यक्ष र तीन उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो ।
जिल्लामा ७२ वडामध्ये नेकपा माओवादी केन्द्रले ४८, नेपाली कांग्रेसले १४, नेकपा एमालेले ८, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक वडाध्यक्ष जितेका थिए । स्थानीयतहको निर्वाचनमा वडाको मतको आधारमा नेकपा माओवादी केन्द्रले ४०७९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४६६४, नेकपा एमाले १५३०१, राप्रपा १२१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेका थिए ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट वामगठबन्धनको साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका वर्षमान पुनले ४२०८४ मत प्राप्तगरी विजयी हुनुभएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले २०३३७ मत प्राप्त गर्नुभएको थियो ।
समानुपातिक तर्फ अघिल्लो संसदिय निर्वाचनमा नेकपा माओवादी केन्द्रले २७२२० मत, नेपाली कांग्रेसले १५८४७ मत र नेकपा एमालेले १०५४५ मत प्राप्त गरेको थियो ।