काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारको क्रममा हाल सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुहुन्छ ।
तीन दिनदेखि उहाँ धनगढीको आफ्नै निजी निवासमा रहनुहुँदा भेटघाट गर्ने नेता कार्यकर्ताको बाक्लो चहलपहल चुनावी रौनक पनि एकाएक तातेको छ । बिहानको समयमा प्रधानमन्त्री देउवालाई भेटिसकेपछि नेता कार्यकर्ता नियमितरुपमा चुनावी प्रचारप्रसारमा खटिने गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नेता कार्यकर्ताले चुनावकै विषयमा छलफल गर्ने गरेको एक नेताले बताउनुभयो ।
प्रधानमन्त्री निवास परिसरमा भेटिनुभएका कांग्रेस स्थानीय नेता अमृत बिसीले भन्नुभयो, 'यहाँ आइपुग्ने जो कोहीले चुनावी माहोलका बारेमा आपसमा छलफल गरिरहन्छन्, टिकट नपाएर असन्तुष्ट हुनेलाई सम्झाइबुझाइ पनि गरिहेको देखिन्छन् ।' कांगे्रसका जिल्ला सभापति नारायणदत्त भट्ट प्रधानमन्त्रीको धनगढी बसाइँसँगै बढेको नेता कार्यकर्ताको चहलपहलले चुनावी माहोल तात्नु स्वभाविक रहेको बताउनुहुन्छ ।
संविधान र व्यवस्थाको रक्षाका लागि पहिलो पटक वाम–लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा होमिनु पर्दाको अवस्थामा टिकट वितरणका क्रममा केही सन्तुष्टि र असन्तुष्टि स्वर आउनु स्वभाविक रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,'असन्तुष्टलाई मनाउँदै चुनावी माहोल कांग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा ल्याउने प्रयासमा छौँ ।'
डोटीको उच्चाकोटस्थित विद्यालयमा तत्कालीन समयमा देउवाका सहपाठी रहनुभएका धनगढी निवासी तारानाथ ओझाले आफूसँगको भेटमा प्रधानमन्त्री देउवा निकै प्रफुल्ल मुद्रामा पाएको बताउनुभयो । 'आउन लागेको चुनावी माहोलका बारेमा थप केही कुरा भएन', उहाँले भन्नुभयो, 'आफ्नो वडामा विसं २०४८ देखिका सबै निर्वाचन कांग्रेसले चुनाव जित्दै आएको जानकारी गराउँदा उहाँ खुसी हुनुभयो ।'
डडेलधुराबाट प्रतिनिधि सभादस्यका प्रत्यासी रहनुभएका कांग्रेस सभापति देउवाले त्यहाँ बसेर कात्तिक १७ देखि २० गतेसम्म भएका चुनावीसभामा सहभागी भएर धनगढीस्थित निवासमा फर्किनुभएको हो । उहाँले पार्टीका नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिँदै पार्टी र सत्ता गठबन्धनकै पक्षमा माहोल बनाइरहनुभएको छ ।
खासगरी पार्टीको टिकट वितरणपछि असन्तुष्ट भएका र निष्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर उहाँले आसन्न चुनावमा पार्टीको अवस्थाबारे पनि जानकारी लिइरहनुभएको कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताउनुभयो । कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने यसै क्षेत्रबाट पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । ओझा गठबन्धन दल र एमालेका प्रत्यासीका लागि चुनौती बन्नुभएको अड्कलबाजी एकथरीको छ ।
एमालेले प्रतिनिधिसभाका निवर्तमान सदस्य नारदमुनि रानाथारुलाई टिकट दिएको छ । यी तीनै जनाबीच कडा चुनावी टक्कर रहेको एकथरीको विश्लेषण छ ।
प्रधानमन्त्री देउवा यसअघि विसं २०४८ देखि २०७४ मा भएका चुनावमा डडेलधुराबाट लगातार विजयी हुँदै आउनुभएको थियो । आसन्न चुनावका लागि सातौँ पटक प्रत्यासी हुनुभएका देउवालाई विगतको चुनावका मुख्य प्रतिस्पर्धी रहेको नेकपा (माओवादी केन्द्र)को बलियो साथ रहेको छ । यसबाहेक नेकपा एकीकृत समाजवादीको पनि साथ रहेको छ ।
कैलालीको चिसापानीदेखि गड्डाचौकीसम्मको पूर्वपश्चिम राजमार्ग खण्डमा पर्ने २२ वटा पुल निर्माण देउवाकै पहलमा भएको स्थानीयवासी लोकराज भट्ट बताउनुहुन्छ । चिसापानीको कर्णाली नदीमाथिको पुल र चिसापानीदेखि गड्डाचौकीसम्मका पुलको निर्माण भएपछि मात्रै सुदूरपश्चिम प्रदेशको सडक यातायात सञ्जाल पहिलो पटक नेपालका बाँकी भूभागसँग जोडिन पुगेको भट्ट बताउनुहुन्छ ।
दार्चुला र बैतडीमा चुनावी सभामा भोलि प्रधानमन्त्री देउवा दार्चुला र बैतडीमा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । सोही सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नु हुने बताइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही दिन कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । सुख्खडको चुनावीसभामा प्रधानमन्त्री र एकीकृत समाजवादीका अध्यक्ष सहभागी हुने वा नहुने भन्नेबारेमा अहिल्यै टुङ्गो लागेको छैन ।
कांग्रेस नेतृत्वको गठबन्धनले बैतडीको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले र दार्चुलाको प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई टिकट दिएको छ ।