काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूति गर्ने र रुपान्तरणका लागि केन्द्रित भएको बताउनुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन एवं मतदाता भेटघाटमा उहाँले नागरिकका आकाङ्क्षा, सपना र पहिचानका लागि भौतिक संरचनाको समयानुकूल विकास गनुपर्ने भएकाले उम्मेदवार भएको बताउनुभयो ।
स्वलम्बी, सम्पन्न र नागरिकलाई स्वतन्त्र, अधिकार सम्पन्न, आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
'जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिन राजनीतिमा क्रियाशील रहेको छु', नेता पौडेलले भन्नुभयो । नेपालका गरिब र निमुखा जनतालाई न्याय दिँदै जनता, जल, जमिन, जङ्गल, जडीबुटी, पर्यटन र संस्कृतिको परिचालन गरी समुन्नत गाउँ र सभ्य सहरसहितको समृद्ध नेपाल निर्माण गर्नका खातिर उम्मेदवार बनेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा तनहुँ–१ प्रदेशसभा ‘२’ का उम्मेदवार हरिबहादुर चुमानले संविधानको रक्षा र लोकतन्त्र तहसनहस बनाउने षड्यन्त्रकारीका विरुद्ध गठबन्धन गर्नुपरेको बताउनुभयो ।
लोकतन्त्रवादी गठबन्धनका उम्मेदवार आज बन्दीपुर गाउँपालिका विभिन्न वडामा पुगेर मतदातालाई भेटघाट गर्नुभएको थियो ।