काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मध्यपुरथिमिमा आज आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताउनुभयो ।
सभापति देउवा थिमिको शङ्खधर चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको माल्यापर्ण कार्यक्रमका लागि थिमि आउनुभएको थियो । सो कार्यक्रमपछि उहाँ कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुग्नुभएको थियो ।
सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पार्नुभयो । उहाँले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिनुभयो ।
उहाँले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिनुभयो ।
कार्यक्रममा उम्मेदवार थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेषगरी मध्यपुरथिमि नगरक्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं २ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रूपमा रहेको मध्यपुरथिमि नगर क्षेत्र समावेश भएको भक्तपुर-२ (२) को प्रदेशसभा सदस्य गठबन्धनका दललाई दिए पनि समानुपातिकतर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गर्नुभएको थियो ।