दोधारा-चाँदनी, २९ भदौ (रासस) : सुदू्रपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले राष्ट्रिय समाचार समिति (रासस)को प्रभावकारितालाई देशव्यापी बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
राससको कञ्चनपुरको महेन्द्रनगरमा नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री रावलले सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्ने राज्यको समाचार समिति राससको प्रभावकारिता देशव्यापी हुन सके राज्य तथा सबै सञ्चारमाध्यमलाई लाभ पुग्ने बताउनुभयो । नयाँ भवनबाट राससको समाचार सेवा विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
“सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको छ”, मन्त्री रावलले भन्नुभयो– “राससको विकास र विस्तारमा पनि प्रदेश सरकारको सदैव सहयोग रहने छ ।”
नवनिर्मित भवनको मन्त्री रावल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा कार्यकारी अध्यक्ष झाले राष्ट्रिय समाचार समिति मिडियाको पनि मिडिया भएको बताउनुभयो । “आम नागरिकले मिडियाबाट तथा मिडियाले राससबाट जानकारी प्राप्त गर्छन् त्यसैले रासस मिडियाको पनि मिडिया हो”, उहाँले भन्नुभयो ।
लोकतन्त्रलाई संस्थागत गर्न राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “ बिना सूचना लोकतन्त्र अगाडी बढ्न सक्दैन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि राससको भुमिका अहम छ । रासस जति सशक्त हुन्छ लोकतन्त्र त्यती नै प्रभावकारी हुन्छ ।”
राससले थप सेवा विस्तार गर्दै लगेको अध्यक्ष झाले बताउनुभयो । “सुरुमा हस्तलिखितबाट सेवा सुरु गरेका थियौँ, अहिले श्रव्यदृष्य सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो– “सुदूरपश्चिम प्रदेशमा राससले सञ्चार अनुसन्धान र विकास केन्द्र स्थापना गर्न चाहेको छ ।” सुदूरपश्चिममा सञ्चार अनुसन्धान र विकास केन्द्र स्थापना गरी त्यसको नेतृत्व राससले गर्न चाहेको अध्यक्ष झाको भनाइ थियो ।
सो अवसमा समयमै भवन निमार्ण सम्पन्न गर्ने जिके ग्रुप निमार्ण सेवाका प्रमुख ज्ञानेन्द्र फुयाललाई सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री रावल र राससका कार्यकारी अध्यक्ष झाले निर्माण व्यवसायी फुयाललाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रासस कञ्चनपुरको एकतले पक्की भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा रासस भीमदत्तनगर कार्यालय कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहले मन्त्री रावल, राससका कार्यकारी अध्यक्ष झा र राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।